काठमाडौं । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले बताए।
शनिवार साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए । सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक रूपमा आश्वासन दिइए पनि पीडित परिवारसँग सहमति नभएको बुढाले जानकारी दिए ।
मृतकका परिवारले सरकारले गठन गरेको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्तिका साथै रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् ।
मृतकको शव किष्ट अस्पताल र पाटन अस्पतालमा राखिएको छ । मृतकका केही आफन्तहरू काठमाडौं आइपुगेका छन् । शुक्रवार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
सरकारले सो घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य संयोजकत्वमा एक छानबिन समिति बनाएको छ । सो छानबिन समितिमा ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेका छन् ।

