डेनमार्ककी महारानीद्वारा पदत्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेथ द्वितीयाले अंग्रेजी नयाँ वर्षको अवसरमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै पदत्यागको घोषणा गरेकी छिन्।

युरोपमा महारानीका रूपमा सबैभन्दा लामो समय शासन गरेकी ८३ वर्षीया मार्गरेथ द्वितीयाले यही जनवरी १४ मा औपचारिक राजीनामा दिने गरी पद त्यागको घोषणा गरेकी हुन्। महारानीका रूपमा ५२ वर्ष नेतृत्व गरेकी मार्गरेथ द्वितीयाले अब छोरा क्राउन प्रिन्स फ्रेडरिकले डेनमार्कको सिंहासन सम्हाल्ने घोषणा गरेकी छिन्।

उनले सन् १९७२ मा पिता फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन्। गत वर्ष मात्रै उहाँको ढाडको शल्यक्रिया भएको थियो। चिकित्सकले स्वास्थ्यको कारण देखाउँदै महत्त्वपूर्ण जिम्मेवारीबाट विश्राम लिन सुझाएका थिए ।

मार्गरेथ द्वितीयको आकस्मिक पद त्यागको घोषणापछि प्रधानमन्त्री मेटे फ्रेडेरिकसेनले धन्यवाद दिँदै महारानी मुलुकको एकताको प्रतीक भएको बताएकी छिन्। जनवरी १४ मा हुने सत्ता हस्तान्तरण बेलायतको जस्तो भव्य राज्याभिषेक समारोह नभई कोपनहेगन दरबारमा सामान्य प्रक्रिया हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय