काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरूले गरिरहेको प्रदर्शन भइरहेको स्थानमा गाडी लिएर मन्त्री जानु गल्ती भएको बताएका छन्। नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलापको दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले गाडी लिएर हुलमा मन्त्रि पुगेपछि भीड थप उत्तेजित भएको बताएका हुन्।
उनले घटनाबारे उठाइएका प्रश्नको जवाफ माग गरे। अध्यक्ष ओलीले प्रश्न गर्दै भने, ‘हुल भड्किरहेको बेला मन्त्री झण्डा हल्लाएर जानुपर्ने कारण के थियो ? मन्त्री त्यहाँ भीडमा गाडी लिएर किन जानुपर्यो ? नगई नहुने के काम पर्यो ? हुलमा गएर वादविवाद गरेर मान्छे उक्साएर के गर्न खोजेको थियो ? थुप्रै प्रश्नहरू उब्जिएका छन्।’
उनले यी सबै विषयहरूले स्थिति असहज हुँदै गइरहेको बताए। उनले थपे, ‘हुलमा गएर उत्तेजित पारेर गोली चलाएर मान्छे मारेको छ। गोली मात्रै चलाएको होइन। बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ मरेको छ। यो सहज कुरो होइन।’
अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको कुनै भविष्य नरहेको पनि बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्ध विभिन्न गतिविधि भइरहेको तर्फ इंगित गर्दै उनले राजतन्त्रको बहस आवश्यक नभएको बताए। उनले राजतन्त्रको अन्त्य राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डसँगै सकिएको बताए। ‘राजतन्त्रको भविष्य छैन। हुन त दरबार हत्याकाण्डमै सकिएको हो। तर, हामी चुक्दा केही समय डमी राजतन्त्र चल्यो। पछि ढल्यो,’ ओलीले भने।
उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुत बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको पनि बताए । सिक्किम राजा हुँदाहुँदै भारतमा विलय भएको देखाउँदै राजावादीहरूलाई भ्रममा नपर्न उनले आग्रह गरे। ‘कसै कसैले राजा भयो भने राष्ट्रियता बलियो हुन्छ भनेको पनि सुनिन्छ,’ ओलीले भने, ‘भारतमा लगभग ५ सय ६५ रजौटा थिए। ५ सय ६५ रजौटा कायम हुनुपर्थ्यो नि, ती राज्य कायम हुनुपर्थ्यो नि! राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ ? राजा हुँदा देश बच्दो रहेछ त ?’
उनले अगाडि थपे, ‘यहाँ कुरा बुझ्न आवश्यक छ। के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ? यो तथ्यले पुष्टि गर्नुपर्यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो।’ उनले राष्ट्रिय एकताको कुरा गर्दा प्रतिस्पर्धा स्वस्थ हुनुपर्नेमा जोड दिए। साथै, लोकतन्त्र रक्षाको लागि एक हुनुपर्ने मत राखे।

