भारतका विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे

काठमाडौं। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका हुन्।

नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन्। भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमानबाट नेपाल आइ पुगेका हुन्।

उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्। त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन्। त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ। विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। उनको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन्।शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर