राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले आज बिहान शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका विदेशमन्त्री जयशंकरले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिए। उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे।

सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका थिए। मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

उनले आज दिउँसो १ बजे परराष्ट्रमन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ। विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा काँग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्। उनी शुक्रवार नै भारत फर्किनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर