काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न लामिछाने शुक्रबार मध्याह्न उनको बालकोट पुगेका थिए। उनीहरुबीच एक घण्टा छलफल भएको बुझिएको छ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले सभापति लामिछाने अध्यक्ष ओलीलाई भेट्न गएको उनको भनाई थियो।
यद्यपि दुई नेताबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन। रास्वपा सभापति लामिछानेले यसअघि पनि अध्यक्ष ओलीसँग भेट्न समय माग गरेका थिए। ओली एमालेको मध्यपहाडी यात्रामा भएका कारण भेट नभएको एक एमालेका नेता बताउँछन्।

