अस्पतालले उपचार खर्च छुट दिएपछि घर फर्किए दुर्गाप्रसाद

इलाम। उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन्। बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए।

छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैं भएर अस्पतालमै बस्नु परेको थियो। परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ। दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेका अस्पतालले जनाएको छ। उनी निको भएको छ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार नहुँदा घर जान पाएका थिएनन्।

विभिन्न सञ्चारमाध्यममा उपचार खर्च अभावले अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद शीर्षकमा समाचार आएपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए।

‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो’, डा. भन्तानाले भने, ‘शतप्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ।’ दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको डा. भन्तानाले बताए।

‘छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो’, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ।’

दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो। दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता भएका थिए। घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए। विभिन्न सङ्घ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो।

इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो। कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो। उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ प्रदान गरेको थियो।

उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो। लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर