काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले जनताको पक्षमा सक्रियताका साथ काम गरिरहेको बताएका छन्। तर, सरकारले जनताको पक्षमा राम्रो काम गरेपछि त्यसलाई रोक्न नियोजित तरिकाले झुटको सहारा लिएर गलत प्रचार गर्ने प्रयत्न भइरहेको उनको भनाई छ।
उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारणसभामा आज अर्थमन्त्री डा। महतले सत्यलाई छेक्न खोजेपनि सरकारले इमान्दारिताका साथ जनताको काममा लागिपर्ने बताए। उनले भने, ‘काम गर्नेको पछि लाग्नु पर्दछ। झुटो बोल्नेहरूको पछि लाग्न हुँदैन। नियोजित तरिकाले प्रचार गरेर सत्यलाई छेक्न खोजिएको छ। तर सत्य डगमगाउँदैन।’
सामाजिक सञ्जालमा आएको गलत हल्लाको पछाडि नलाग्न अनुरोध पनि गरे। सरकार पुँजीगत खर्च वृद्धि गर्ने योजनामा रहेको जानकारी उनले दिए। अर्थमन्त्री डा। महतले माघ महिनाभित्र ठेकेदारको पैसा राज्यले दिने पनि बताए।
अर्थमन्त्री डा। महतले प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्ने बताए। उनले अब उत्पादनमा सरकारको ध्यान जानेमा जोड दिए। उनले भने, ‘उत्पादन हुने उद्योग व्यवसाय गर्न लगाउने वातावरण बनाउने छौँ। यहाँ धेरै अवसर छन्। आइटी, टुरिजम, नयाँ व्यवसाय गर्नका लागि सरकारको योजना छ।’
अर्थमन्त्री महतले अर्थतन्त्र लयमा आउन थालेको बताए। ‘कसैले भन्दैमा हुँदैन हाम्रा तथ्यांकले सुधार उन्मुख देखाएको छ। अर्थतन्त्र खतम भयो भनेर विदेश जान खोज्नेहरूले सोचे हुन्छ अब सुधार हुदैछ,’ उनले भने, ‘अर्थतन्त्रमा सुधारको सकारात्मक प्रभाव पर्यटनको क्षेत्रमा देखिएको छ। नेपाल घुम्न आउने बाहिरका पर्यटक धेरै भित्रेको तथ्यांकले देखाएको छ। हल्ला र प्रचारको पछाडि नलाग्न अनुरोध गर्दछु।’

