काठमाडौं। गौशाला- २६ भन्दै सामाजिक सञ्जाल फेसबुकमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो।
सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ। सापकोटाले गौशाला–२६ ९परिवर्तित नाम०को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ।
‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ। गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो।

