काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ।
भेटमा रास्वपाले सम्पन्न गरेको तीन दिने दबाब यात्रा (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको छ।
निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ। थप ढिलाइ नहुन चालिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाए।
भेटमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको जनाइएको छ।

