काठमाडौं। थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन्। शनिबार दिउँसो १स्५५ बजे प्र-३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।
एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए। दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

