काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन समन्वय समिति गठन गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी पार्टीसहित सत्ता गठबन्धनमा रहेका दलहरूले प्रदेशमा हुने निर्वाचनको परिचालन र समन्वयका लागि समिति गठन गरेका हुन् ।
केन्द्रमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा गठित समन्वय समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, जसपाका प्रवक्ता मनिष सुमन र नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल सदस्य छन् ।
समितिमा गोविन्द चौधरी आमन्त्रित सदस्य हुन्। समितिको शनिबार बसेको पहिलो बैठकले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन भएको विवरण माथि छलफल गर्दै अब जिल्लाहरूमा पनि समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले समितिको सदस्य सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय गरेको छ ।
समितिले मतदाताहरूसँग गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति-२०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।

