एजेन्सी । युद्धग्रस्त गाजापट्टीमा थप मानवीय सहायता उपलब्ध गराउन इजरायल र हमास सहमत भएका छन्।
कतार र फ्रान्सको मध्यस्थतामा भएको वार्तामा हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउने सहमति भएको छ। बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिलाई अनुमति दिने समाचार संस्था बीबीसीले जनाएको छ ।
सम्झौताअनुसार, मानवीय सामग्री बुधबार नै कतारको राजधानी दोहाबाट इजिप्टको लागि प्रस्थान गर्नेछ। त्यसपछि गाजामा लगिनेछ । गाजामा १३२ भन्दा बढी मानिसलाई हमासले बन्धक बनाएको अनुमान गरिएको छ।
यसैबीच अमेरिकाले छिटै नै युद्ध अन्त्य हुनेमा आशावादी भएको प्रतिक्रिया दिएको छ। अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरु इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा छन्। अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको अमेरिकाले बताएको छ।
हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरी २४० जनालाई अपहरण गरेको थियो । सो आक्रमणमा झण्डै १३ सय मानिस मारिएका थिए। हमासको यो आक्रमणपछि क्रुद्ध भएको इजरायलले गाजामा भीषण सैन्य कारबाही गरिरहेको छ।१०० दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह बनेको छ।