काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा र श्रमिकको विदेश पलायन रोक्न सरकार गम्भिर भएर लागेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औँ वार्षिकोत्सवमा बिहीबार उनले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने संकल्प सरकारले लिएको बताएका हुन्।
उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। पुरानै कार्यशैलीबाट यो संकल्प पुरा नहुने उनको भनाई छ। उपप्रधानमन्त्री श्रेष्ठले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए।
उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए। उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए। सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए।
‘यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौं। यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौं,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो संकल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ। नयाँ ढंगले काम गर्नुपर्छ। त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौं। अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौं।’
उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए। उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे। उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताए। उनले देशमा उर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बताए।
मन्त्री श्रेष्ठले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाई लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए। ‘उर्जा उद्यमीहरूले निर्धक्क भएर लगानी गर्दा हुन्छ, सुरक्षाको कुनै चिन्ता नलिनु,’ उनले भने।

