काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा राज्यको नीति र संविधान उल्लंघन नगर्न आग्रह गरेका छन्। शिखर सम्मेलन सम्पन्न गरी उनी स्वदेश फिर्तीको क्रममा आज आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे।
‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ। विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति, संविधानको मर्म र हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरीत भर्ती हुन जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ।’
युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उनले बताए। मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको उनले बताए।
परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए।

