काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताए। उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन्।
उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएकोबारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको आरोप लगाइन्।
उनले २२१ जना करारका कर्मचारी कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको दावी गरिन्। उनले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिश भएर काम गरिरहेको बताइन्।

