म्याग्दी । सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चारजना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो ।घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगंगा–७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।ज्यानसम्बन्धी कसुररमुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

