गुल्मी । गुल्मीको तम्घासमा जंगलका रुख काटिएको छ । जंगली जनावरले दुःख दिएको भन्दै रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको हो ।
बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ ।
तम्घासको उदिनढुंगास्थित आदर्श कोडिङ स्कुलदेखि तीनधारा हुँदै वडा नम्बर २ को सिमानासम्म्को रुख काटिएको हो । गाउँमा मान्छेको बसोबास घट्दै गएपछि झाडी बढेको, बाँदर र जंगली जनाबरबाट बाली जोगाउन समस्या परेको गुनासो बढेपछि कुकाठ र झाडी फडानी गरेको वडाध्यक्ष रामप्रसाद पन्थीले बताएका छन् ।
बाँदरले बारीको खेती मात्र नभई घरमा आएर पकाएको खानासमेत खाइदिएको गुनासो आएको उनको भनाइ छ । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो ।

