महिला प्रिमियर कप टी–ट्वान्टीको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीको यसै वर्ष हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने सपना समाप्त भएको छ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज आयोजक मलेसियासँग ४ विकेटको पराजय भोगेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको ८ वर्षपछि एसिया कप खेल्ने सपना समाप्त भएको हो।

नेपालले यसअघि यसअघि सन् २०१२ र सन् २०१६ मा नेपालले एसिया कप खेलेको थियो । नेपाललाई पराजित गरेको मलेसियाले अब उपाधिका लागि यूएईको सामना गर्ने भएको छ। यूएईले आजै थाइल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो।

शुक्रबार भएको सेमिफाइनलमा ११६ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। मलेसियालाई जित दिलाउन इल्सा हन्टरले अविजित ६९ रन, महिरन इजाती इस्माइलले १६ रन तथा मास इलयसले १३ रन बनाए।

नेपालका लागि सिता राना मगर र कविता जोशीले २–२ तथा कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट हात पारे। यसअघि क्वालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन, डोली भट्टले २५ तथा रुविना क्षेत्रीले २० रनको योगदान गरे। कविता कुँवरले २३ रन तथा सिता राना मगरले ६ रन जोडे। मलेसियाका लागि महिरन इजाती इस्माइलले २ विकेट तथा विनिफ्रेड डुरासिंगमले १ विकेट हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर