काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहने बताएका छन्। शनिबार राष्ट्रिय वाणिज्य बैंकको आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्सको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य हुँदैन। राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छौं।’ बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने बताए।
उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरु आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरु डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे। बजारमा तरलता बढी हुँदा राष्ट्र बैंकलाई व्यवस्थापन गर्न समस्या हुने भएपनि अर्थतन्त्रको समस्या समाधान गर्न नेतृत्वमा बसेकाहरु डराउन नहुने उनको भनाइ छ।
बैंकहरुमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस र जनताको हातमा पैसा पुगोस साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका उनले राष्ट्र बैंकसँग प्रतिस्पार्धा होइन सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए।

