काठमाडौं । यहि वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ। आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरूले आज विभिन्न ठाउमा चुनावी सभा गरेर आफ्नो प्रचार प्रसार अभियानको अन्त्य गर्दै छन्। वैशाख १५ गते शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा–१ (क) मा उपनिर्वाचन हुँदै छ ।
नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरिरहेको छ भने एमालेले चुलाचुलीमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावीसभा गर्दैछ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाँउमा सभा गर्ने जानकारी दिएको छ। चुनावी प्रचारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने केही दिनदेखि इलाममै रहेका छन भने आजका सभामा उनले सम्बोधन गर्दैछन्।
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीमै आमसभा रहेको छ। इलाम-२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहेका छन्। जसमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ।
यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन्। यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१) वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन्। उम्मेदवारहरूले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन्। यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन्।

