पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको बताएका छन्। उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताएका हुन्।

एक्यानद्वारा आज यहाँ आयोजित राष्ट्रिय सम्मेलनमा उनले भने, ‘मुलुकभर सक्रिय लेखा परीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौं, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखा परीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखा परीक्षक राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ।’

लेखा परीक्षकको सक्रियताका कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सम्बन्धित निकायलाई पारदर्शी र जबाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्टका विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुन्छ भने।

‘कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुन सक्दछ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर