काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउने सरकारको नीति रहेको बताएका छन् ।

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले धानको उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको मुख्य प्राथमिकता रहेको बताए । साथै उनले किसानलाई आवश्यक मल र बीउको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाए ।
धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आउँदो दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखेको प्रधानमन्त्रीको भनाई छ । धानबाली नेपालको प्रमुख खाद्यान्न बाली हुनाले तीनवटै तहका सरकार गम्भीर भएर भइरहेका नीतिको सफल कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

