पर्थ । नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (NCAWA) ले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गर्दै बसन्त खातीलाई अध्यक्षमा चयन गरेको छ। पर्थमा सम्पन्न एक विशेष कार्यक्रममा नयाँ कार्यसमितिको स्वागतसँगै आगामी योजनाहरू पनि सार्वजनिक गरिएको थियो।
बसन्त खातीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा पुष्पमणि बोहरा, सचिवमा आदेश शाह, कोषाध्यक्षमा बद्री पाण्डे, र सहसचिवमा सुरेन्द्र सापकोटा चयन भएका छन्।
त्यसैगरी सन्तोष गुरुङ (PlayHQ) संयोजक, सुशान्त महत र अनिश खड्का (FrogBox)संयोजक, प्रकाश लामिछाने (वित्त) संयोजक, र नवीन आचार्य (सामाजिक सञ्जाल) संयोजक नियुक्त भएका छन्।
कार्यक्रममा NCAWA का पूर्व पदाधिकारीहरू, खेलप्रेमी सदस्यहरू, र नेपाली समुदायका अगुवाहरूको उपस्थिति थियो। कार्यक्रमको दौरान एनसीएडब्लुएको विगतका उपलब्धिहरूको समीक्षा गर्दै, नयाँ कार्यसमितिको भावी रणनीति र समुदायसँगको सहकार्यमा आधारित योजनाहरू प्रस्तुत गरिए।
नयाँ अध्यक्ष बसन्त खातीले आफ्नो मन्तव्यमा खेलकुदको माध्यमबाट नेपाली समुदायमा एकता र सहभागिता बढाउने प्रतिबद्धता जनाउँदै क्रिकेटमार्फत युवाहरूलाई नेतृत्वमा ल्याउने, र आगामी दिनमा अझ व्यवस्थित क्रिकेट लिग, तालिम र सामुदायिक प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा विशेष रूपमा सल्लाहकार समिति पनि गठन गरिएको छ, जसमा प्रमुख सल्लाहकारका रूपमा नवीन बिडारी तथा सल्लाहकारहरूमा संजय चौधरी, मनिष चौधरी, हरि भजन हुमागाईं, र ईश्वर अधिकारी चयन भएका छन्।
कार्यक्रमको समापनमा समुदायका वरिष्ठ सदस्यहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिंदै, सबै नेपालीलाई यस अभियानमा हातेमालो गर्न आह्वान गरेका थिए।