मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले अष्ट्रेलिया डे को अवसर पारी आयोजना गरेको एक लोक नृत्य प्रतियोगिताको तयारी पूरा भएको छ ।
विहिबार अर्थात यही जनवरी २६ गते अष्ट्रेलिया दिवसको अवसरमा आयोजित अन्तरराज्यस्तरीय एकल लोक नृत्य प्रतियोगिताको तयारी करिब पूरा भएको उक्त कार्यक्रमका संयोजक उज्जवल अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा भिक्टोरिया, साउथ अष्ट्रेलिया, वेस्टर्न अष्ट्रेलिया, तास्मानिया, क्विन्सल्याण्ड, नर्दन टेरिटोरी र क्यानबेराबाट प्रतियोगिहरु सहभागि हुने भएका छन् ।
जब ट्रेनिङ्ग अष्ट्रेलियाका मुख्य प्रायोजन तथा अष्ट्रेलिया वाइट ट्रेनिङ्ग इन्सिटट्युटको सहप्रयोजनमा हुन लागेको उक्त कार्यक्रमको निम्ती भिक्टोरिया राज्य सरकारबाट आर्थिक अनुदान प्राप्त भएको न्याभका कोषाध्यक्ष तथा अष्ट्रेलिया डे सेलिव्रेशन समितिका संयोजक डा. यकेन्द्र तिमिल्सिनाले जनाए ।
अष्ट्रेलिया डे सेलिव्रेशन अन्तर्गत मनाउने क्रममा यसअघि क्रिकेटरहरु तथा साहित्यकारहरुसँग कार्यक्रम सम्पन्न गरिसकिएको जानकारी दिए ।
त्यस्तै न्याभका सहसचिब आलोक पौडेलले एस्टोनिया हाउस, ब्रन्सविकमा विहिबार साँझ ६ देखि नौ बजेसम्म कार्यक्रम हुने र त्यसको निम्ती आवश्यक सबै तयारी पूरा भएको जनाए ।
भिक्टोरिया मै सम्भवत् पहिलो पटक यसप्रकारको राज्यस्तरीय प्रतियोगिता गर्न लागिएको अध्यक्ष प्रेम राज उप्रेतीले बताए । प्रतियोगिताले नेपाली कला, भाषा, संस्कृति, परम्पराको संरक्षण विस्तार गर्न सहयोग गर्ने मात्र नभएर नेपाल तथा अष्ट्रेलियामा रहेका नेपालीहरुलाई गोलवद्ध गर्ने अवसर पनि रहेको उप्रेतीको भनाई छ ।
उनले प्रतियोगितामा नेपाली लोक संस्कृति, कला, भेषभूषा, शैली, संस्कृति देखिने नृत्यलाई प्राथमिकता दिइएको जानकारी दिए ।
प्रतियोगि छनौटमा हरेक राज्यमा रहेका नेपाली संघहरुले न्याभसँग सहकार्य गरेकोमा अध्यक्ष उप्रेतीले धन्यवाद दिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ हजार डलर, द्वितीय हुनेले ७५० तथा तृतिय हुनेले पुरस्कार स्वरुप ५ सय डलर पाउनेछन् । त्यस्तै ट्रफी तथा प्रमाणपत्र पनि प्रदान गरिने न्याभका उपाध्यक्ष समेत रहेकी ललिशा थापाले जानकारी दिइन् ।
उनले कार्यक्रममा सल्लाहकारको रुपमा रन्जन वैद्य र केशव शर्माले भूमिका निभाएको समेत जानकारी दिइन् । कार्यक्रमको सन्चालन लक्ष्मण सन्ज्याल र रेशा थापाले गर्ने भएका छन् ।
यतिबेला न्याभकै आयोजनामा १८ औं न्याभ कप क्रिकेट प्रतियोगिता चलिरहेको छ ।