मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा प्रेस्टनस्थित टि डब्लू पार्कमा १८ औं न्याभ कप चलिरहेको छ ।
यही १५ जनवरीबाट शुरू भएको उक्त प्रतियोगिताअन्र्तत गत आइतवार दोस्रो हप्ताको खेलहरु सम्पन्न भएका छन् ।
ब्राइटन एभरेष्ट र नरे किंग्सवीच भएको खेलमा नरे किंग्सले ब्राइटनलाई १० विकेटले हराएको छ । ब्राइटनले दिएको ११९ रनको लक्ष्य नरे किंग्सले ९ ओभरमै भेटायो ।
उक्त खेलमा नरे किंग्सका खेलाडी रोशन कंडेले खेलको उत्कृष्ट खेलाडी सावित भए ।
त्यस्तै एभरेष्ट लायन र द हिमालयन वीचको खेलमा द हिमालयनले ७ रनले जित निकाल्यो । द हिमालयनले दिएको ११६ रनको लक्ष्यलाई एभरेष्टले भेटाउन सकेन ।
अन्तिम समयसम्मको प्रयासमा एभरेष्टले १०९ रन मात्र ल्यायो । त्यस्तै द हिमालयनका खेलाडी दिपेश शाक्य प्लेयर अफ द म्याच बन्न सफल भएका छन् ।
ग्रेस गोर्खाली र फार वेस्ट हन्टर्सवीचको खेलमा भने फार वेस्ट हन्टर्सले ९ विकेटले जित निकाल्यो । ग्रेस गोर्खालीले दिएको १०३ रनको लक्ष्य फार वेस्टर्नले ९ विकेट बाँकी रहदै भटायो ।
यस खेलमा फार वेस्ट हन्टर्सका खेलाडी बासु गिरीले म्यान अफ द म्याचको उपाधि हासिल गरेका छन् ।
यसैगरी माभेन र सगरमाथा एक्सपर्टको खेलमा माभेनले ४६ रनका साथ जित हासिल गर्यो । माभेनले दिएको १७१ रनको लक्ष्यलाई पछ्याएको सगरमाथा एक्सपर्टले सबै ओभर सकिदा १२५ रन मात्र जोड्न सक्यो ।
उक्त खेलमा माभेनका उत्सव पोखरेल म्यान अफ द म्याच भएका छन् । यस जितसँगै माभेनले न्याभ कपमा दुई खेलहरु जित्ने टिम बन्न सफल भएको छ । अर्को गेम आउने आइतवार २९ जनवरीमा हुने खेल संयोजक दीप चन्दले बताए । तेस्रो हप्ताको खेलमा नरे किंग्स र सगरमाथा एक्सपर्ट, ब्राइटन र द हिमालयन, रोयल राइनोज र फारवेस्ट हन्टर्स, माभेन र गुल्मी टाइगर्सवीच प्रतिस्पर्धा हुने चन्दले बताए ।
सबै म्यान अफ द म्याच खेलाडीहरुलाई मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको तर्फबाट २५० डलर बराबरको उपहार भौचर प्राप्त गरेका छन् भने न्याभले हरेक उत्कृष्ट खेलाडीलाई २० डलर नगद पुरस्कार दिएको छ ।
म्याक्सीम्याक्सको मुख्य प्रायोजन रहेको उक्त न्याभ कपलाई ब्राइटन कलेजले सहप्रयोजन गरेको छ । गेम १९ मार्चमा समापन हुनेछ भने नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का सहभागि हुने न्याभका सचिव माधव खरेलले जानकारी दिए ।