मेलवर्न । भिक्टोरियामा रहेका नेपालीहरुमाझ विभिन्न खेलकूदजन्य क्रियाकलापमा सक्रियता बढाउनेगरी नेपाली स्पोर्टस एसोसियसन अफ भिक्टोरिया (एनएसएभी) स्थापना गरिएको छ ।
विभिन्न विधाका खेलहरुमा यहाँ रहेका नेपालीहरुलाई आवद्ध गराउने तथा विभिन्न समयमा आयोजित हुने प्रतियोगिताहरुमा भिक्टोरियाको नेपाली समुदायका खेलाडीलाई सहभागि गर्ने उद्धेश्यका साथ एनएसएभीको स्थापना गरिएको संस्थापक अध्यक्ष तारा गैरेले जानकारी दिए ।
तारा गैरे अध्यक्ष रहेको एनएसएभी कार्यसमितिको उपाध्यक्षमा प्रेरणा मल्ल, सचिवमा सिद श्रेष्ठ, कोषाध्यक्षमा सुदीप न्यौपाने, सदस्यहरुमा आदेश शाह, टोप आले, सत्या शाह, बिमल गुरुङ, सत्यराज सुवाल, मनिस राइ रहेका छन् । सल्लाहकारहरुमा जोग लिम्बु, बोम योन्जन, सुनिल भण्डारी, बबिन मिश्र, राज शर्मा, महेश श्रेष्ठ र राम गुरुङ रहेका छन् ।
यही फेब्रुअरी २०२३ मा भिक्टोरियाको उपभोक्त मामिला विभागमा एनएसएभीलाई आधिकारिक रुपमा दर्ता गरिएको हो । एनएसएभीले सोमबार एक पत्रकार सम्मेलन गर्दै आफ्नो स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै आगामी अप्रिलमा क्यानबेरामा हुन लागेको ओसनीय नेपाली खेल सम्मेलनमा व्यापक सहभागिता जनाउन लागिएको जानकारी दिएको छ ।
भिक्टोरियामा रहेका नेपाली खेलकुद क्लबले क्रिकेट, फुटवलहरुमा मात्रै ध्यान दिएको भन्दै एनएसएभीले भने सबै किसीमका खेलमा नेपालीहरुलाई आवद्ध गराउने योजना राखेको अध्यक्ष गैरेको भनाइ छ ।
कनेक्ट नेपालीले गरेको पत्रकार सम्मेलनको लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सबै उमेर समूह र क्षमता भएका युवाहरुलाई खेलकुदमा जोड्ने अभियान राखिएको भन्दै एनएसएभीका संरक्षक जोग लिम्बूले नेपाली समुदायको स्वास्थ्यस्थित बलियो बनाउनको निम्ती पनि एनएसएभीको अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यहाँको समुदायमा हुने खेल गतिविधिमा नेपालीहरुको सहभागिता बढाउने, सामुदायिक भावना विकास गर्ने, नेपाली समुदायका खेल प्रतिभालाई उजार गर्ने, सहकार्यको आधारमा नेपाली व्यावसायहरुको प्रव्द्धन गर्ने लगायतका उद्धेश्य राखिएको एनएसएभीका सचिव सिद श्रेष्ठले बताए ।
ओसनिया खेल सम्मेलनमा व्यापक सहभागिता हुँदै:
आगामी अप्रिल इस्टर पर्वको अवसरमा ७ अप्रिल देखि १० अप्रिलसम्म क्यानबेरामा आयोजिता ओसनीय नेपाली खेल सम्मेलन २०२३ मा एनएसएभीले व्यापक सहभागिता जनाउने भएको छ । अध्यक्ष गैरेले १३० भन्दा बढी खेलाडीहरुले विभिन्न विधामा खेलमा सहभागिता जनाउने तयारी भएको जानकारी दिए ।
७०० भन्दा बढी खेलाडीहरुको सहभागिता हुने उक्त खेल सम्मेलनमा भिक्टोरियाबाट क्रिकेट, सकर, फुटबल, पौडी, बास्केटबल, भलिवल, ५ किमी दौड, ब्याडमिन्टन, गल्फ लगायतका १० विधामा १३० बढी खेलाडीलाई लैजाने तयारी भएको हो ।
विद्यार्थी खेलाडीहरुलाई आर्थिक रुपमा सहयोग गराउने हेतुको साथ विभिन्न व्यावसायिक संघसंस्थाहरुलाई सहजीकरण समेत गरिएको छ । जस अनुसार भिक्टोरियन खेल टिमको मुख्य प्रायोजन ब्राइटन कलेजले गरेको छ भने म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले सहप्रायोजन गरेको छ । बेटर चोइस मोर्टगेज एन्ड फाइनान्सले प्लाटिनम स्पोन्सरको रुपमा सहयोग गरेको छ । त्यस्तै डिजिटल पार्टनरको रुपमा एमरजेन्ट डिजिटलले साथ दिएको छ भने नोवल करियर गुरुजले भिक्टोरिया बास्केटबल टिमलाई मुख्य प्रायोजन गरेको छ ।
पत्रकार सम्मेलनमा टिम भिक्टोरियाको घोषणा गर्दै एनएसएभीले प्रायोजक संस्थाहरु तथा एनआरएनए भिक्टोरियाप्रति आभार समेत व्यक्त गरेको छ ।विगतका बर्षहरुमा भिक्टोरियामा रहेका नेपालीहरुले सहभागिता जनाउँदै आएको उक्त खेल सम्मेलनमा यसपटक टिम भिक्टोरियाको शसक्त उपस्थिती रहने एनएसएभीले जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष तारा गैरे, संरक्षक जोग लिम्बू, ब्राइटन कलेजका मेलवर्न क्याम्पस म्यानेजर अमर आचार्य, क्रिकेट अष्ट्रेलियाको तर्फबाट बेन होडगार्ट, एनएसएभीका कोषाध्यक्ष सुदीप न्यौपाने, लगायतले बोलेका थिए । एनआरएनए भिक्टोरियाका उपाध्यक्ष नारायण कटुवाल, पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष चिरन्जीवी राज देवकोटा, क्रिकेट अष्ट्रेलियाका तर्फबाट अम्रितायच्यू मिश्र, पत्रकार खगेन्द्र सत्याल, निरु त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।
भव्य बन्दै ओसनिया खेल सम्मेलनः
सन् २०१३ मा पहिलो पटक प्रथम नेपाली अन्तराज्य स्तरीय खेल सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि ओसनिया नेपाली खेल सम्मेलन दुई बर्षको अवधिमा हुँदै आएको छ । २०१३ मा सिड्नी, २०१४ मा मेलवर्न, २०१६ मा ब्रिसबेन, २०१८ मा सिड्नीमा भएको थियो । कोभिडको कारण २०२० मा हुन नपाएको उक्त कार्यक्रम यसपटक क्यानबेरामा हुन लागेको हो ।
ओसनिया नेपाली खेल सम्मेलन अष्ट्रेलिया, न्यूजिल्याण्डसहित अन्य ओसनिया क्षेत्रमा रहेका नेपाली सामुदायिक संस्था तथा अगुवाहरुको संयुक्त पहलमा आयोजना हुँदै आएको छ ।एनएसएभीले उक्त सम्मेलनमा सहभागिता जनाउनको निम्ती अर्थ संकलनलाई समेत तिव्रता दिएको छ । टिम भिक्टोरियाका खेलाडीहरुलाई जर्सी, यातायात तथा बसोबासमा सहायताको निम्ती अर्थ संकलन अभियान चलाइएको एनएसएभीका कोषाध्यक्ष सुदीप न्यौपानेले बताए । यस्तै उक्त कार्यक्रमको निम्ती अर्थ संकलन गर्नको एनएसएभीले यही २ अप्रिलमा गाला डिनरको आयोजना गरेको छ ।