मेलबर्न । नेपाली संघ भिक्टोरियाको आयोजनामा जनवरी १५ देखि चलिरहेको १८ औं न्याभ कपको फाइनलमा नारे किंग्स र फारवेस्ट हन्टर्स वीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतवार प्रेस्टनस्थित टिडब्लु पार्कमा भएको सेमिफाइनल खेलबाट फाइनलमा पुग्दै यी दुई टोलीवीच न्याभ कपको उपाधिको निम्ती प्रतिस्पर्धा हुने भएको हो ।
म्याक्सीम्याक्स एजुकेसन एन्ड माइग्रेसनको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रयोजनमा चलिरहेको उक्त न्याभ कपको फाइनल आगामी आइतवार अर्थात २६ मार्चमा हुँदै छ ।
आइतवारको खेलमा नारे किंग्सले माभन क्रिकेट क्लबलाई ५९ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने फार वेस्टर्न हन्टर्सले एक्सपर्ट सगरमाथा ब्लुजलाई २१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । उक्त खेलमा दीपेन रायमाझी र बासु गिरीले प्लेयर अफ द म्याचको उपाधि पाएका छन् ।
१२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल खेलमा सहभागि हुनको निम्ती नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहभागि हुँदै छन् ।
त्यस्तै कान्तिपूर मिडियाका खेल संवाददाता पाण्डेपनि सहभागि हुँदै छन् । उनीहरु दुवैलाई अभिनन्दनको कार्यक्रम राखिएको खेल संयोजक दीप चन्दले जानकारी दिए ।
त्यसैगरी न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले न्याभको आयोजनामा पहिलो पटक २६ मार्चमा च्यारिटी गाला डिलर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उक्त अवसरमा न्याभ अवार्ड समारोह पनि हुनेछ ।