न्याभ कपः के भन्छन् फाइनलमा पुगेका नारे किंग्स र फार वेस्ट हन्टर्सका कप्तान ?

नेपाली क्रिकेट टोलीका पूर्ण कप्तान खड्काको साथमा भव्य हुँदै फाइनल खेल

मेलवर्न । नेपाली संघ भिक्टोरियाको आयोजनामा भइरहेको १८ औं न्याभ कपको फाइनल आउने आइतवार हुँदै छ ।

म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन तथा ब्राइटन कलेजको सहप्रयोजनमा आयोजित प्रतियोगितामा कुल १२ समूहको सहभागिता रहेको थियो । जस अन्तर्गत फाइनलमा पुगेका नारे किंग्स र फार वेस्ट हन्टर्सले उपाधिको निम्ती आइतवार प्रेस्टनमा रहेको टि डब्लू पार्कमा खेल्नेछन् ।

दुवै समूहका कप्तानले प्रतियोगितामा ढुक्क आत्मविश्वासको साथ सहभागि हुन लागेको भन्दै आफ्नो पक्षमा उपाधि आउनेमा विश्वस्त रहेको बताए ।

नारे किंग्सका कप्तान किरण कंडेलले प्रतियोगिताको उपाधि जित्नको निम्ती आफ्नो टिम पूर्ण विश्वासको साथ मैदानमा उत्रन लागेको बताए ।

‘१२ समूहको सहभागिता रहेको यो कप एकदम प्रतिस्पर्धापूर्ण रह्यो’, कंडेलले कनेक्ट नेपालीसँग भने, ‘विगतको भन्दा यसपटकको गेम अझै व्यवस्थित र मनोरन्जनात्मक बनेको छ, त्यसैमाथि पारस खड्काको सामुन्ने फाइनल अघि खेल्न पाउनुपनि गौरवको विषय हो । हामीले उत्साह पनि थपिएको छ ।’

२०१० मा स्थापना भएको नारे किंग्ससँग २० जना भन्दा बढी खेलाडीहरु रहेका छन् । ‘न्याभ कप शुरू हुनुअघि खेलाडीहरुको अभावको कारण टिम नै बनेको थिएन’, उनले भने, ‘पछि खेलाडी खोजेर, व्यवस्थापन गरेर मिहेनतको साथ न्याभ कपमा सहभागि भयौं, फाइनलमा पनि पुग्यौं ।’

यही उत्साह बोकेर उपाधि जित्ने उनले बताउँदै आफूसँग ब्याट्समेन राम्रो रहेको, एकताबद्ध टिम रहेको, बलिँग पनि राम्रो रहेको बताए । नारे किंग्सले यसअघि २०१९ मा न्याभ कप जितेको थियो ।

यस्तै फार वेस्ट हन्टर्सका कप्तान केशव पन्तले आफूहरुले पहिलो पटक न्याभ कपको फाइनलमा पुगेको भन्दै यसपटक उत्साहपूर्ण जित दर्ता गर्ने बताए ।

‘हामी तयार छौं, सेमिफाइनलमा ब्याटिँग खराब हुँदा पनि १५० बनाएको थियौं, अहिले अझै तयारी गरेका छौं’, पन्तले कनेक्ट नेपालीसँग भने, ‘हाम्रो टीम एकदम राम्रो छ । सुदुर पश्चिमको मात्रैं ९० प्रतिशत छौं, खेलाडीहरुवीच राम्रो एकता छ ।’

उनले न्याभ कपमा खेलेको ६ वटै खेलहरु जित्दै फाइनलमा पुगेको भन्दै फाइनलमा पनि जित हुने बताए ।

‘हामीले आफ्नो टीमलाई निखार्दै आएका छौं’, उनले भने, ‘सधै जस्तै सिम्पल खेल खेल्छौं, विपक्षीलाई कमजोर सोँचेका छैनौं ।’

२०२० मा स्थापना भएको फारवेस्ट हन्टर्स पहिलो पटक न्याभको फाइनलमा पुगेको हो । हाल क्लबमा २० जना बढी खेलाडीहरु रहेको र नियमित रुपमा तालिम पनि भइरहेको कप्तान पन्तले जानकारी दिए । ‘नारे किंग्सबाट न्याभ कप जित्दा म त्यही टिममै थिएँ, त्यही अनुसार आत्मविश्वासको साथ अहिले खेल्छौं,’ उनले भने ।

१८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको सद्भावना दूत समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का बुधबार राती मेलबर्न आइसकेका छन्। पारसले फाइनलका लागि दुबै टोलीलाई शुभकामना दिदैं मेलबर्नमा रहेका नेपालीहरुलाई मैदानमा गएर खेलाडीको हौसला बढाइदिन अनुरोध गरेका छन् ।

उनले यहाँ खेलाडीहरुसँग अन्तरक्रिया समेत गर्नेछन् भने आइतवार साँझ हुन गइरहेको गाला डिनरमा पनि सहभागि हुनेछन् ।

फाइनल खेलमा खड्का सहित कान्तिपुरका खेल विभाग प्रमुख विनोद पाण्डेलाई अभिनन्दन समेत गर्न लागिएको न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले जानकारी दिए ।

खेल संयोजक दीप चन्दले फाइनल खेलको निम्ती सम्पूर्ण तयारी करिब सकिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय