मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले नेपालीहरुको नयाँ बर्ष २०८० हर्षाेल्लासको साथ स्वागत गर्दै शुभकामना साटासाट गरेको छ ।
भिक्टोरियाको नर्थकोटमा विशिष्ट अतिथिहरू, समुदायका नेताहरू, सामुदायिक अग्रजहरू, युवाहरू र बालबालिकाहरूको अत्याधिक उपस्थितिमा नेपाली नयाँ वर्ष २०८०को भव्य उत्सव मनाइएको हो ।
कार्यक्रमको विशिष्ट अतिथि प्रेस्टन र रिजर्भोयरका सांसद नाथन ल्याम्बर्ट, भिक्टोरियन बहुसांस्कृतिक कमिशनका आयुक्त भिभ गुयेन, सांसद इभान मुलहोल्याण्ड, छायाँ क्याबिनेट सचिव तथा नर्दन मेट्रोपोलिटन क्षेत्रका सदस्य बारिस दुजोभा र न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले संयुक्त रूपमा पानसमा वत्ती बालेर उद्घाटन गरेका थिए ।
विभिन्न समुदायका अगुवाहरु, न्याभका पूर्वअध्यक्ष तथा सल्लाहकारहरुको विशेष उपस्थिती रहेको कार्यक्रमको संयोजन उपाध्यक्ष ललिशा थापाले गरेकी थिइन् भने संचालन सहसचिव आलोक पौडेलले गरेका थिए ।
कार्यक्रममा परम्परागत पोशाकमा बालबालिकाहरुको रोमाञ्चक र मंत्रमुग्ध नृत्य प्रस्तुतिले सबैलाई रोमाञ्चित बनाएको थियो । त्यस्तै कलाकार द्धोय नवराज कलौनी र पुष्प बोहराले पनि आफ्नो गायनले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए भने विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक प्रस्तुतीहरुले दर्शकलाई उल्लासित बनाएको थियो ।
सोही दिन नेपाली समुदायका ज्येष्ठ सदस्यहरूलाई कानुनी प्रणाली, ट्राफिक र अन्य अपराधका सम्बन्धमा सुरक्षाका उपायहरू र जीवनका अन्य पक्षहरूबारे जानकारी गराउन सडक सुरक्षा अभिमुखीकरण कार्यशालाको आयोजना गरिएको थियो। भिक्टोरिया प्रहरी, भूपराज पंगेनीले सबै सहभागीहरुलाई अभिमुखीकरण दिएका थिए ।
न्याभले आफूहरुले अष्ट्रेलियाको नेपाली समुदायलाई यहाँको समुदायसँग जोडनको निम्ती गरिरहेको नियमित प्रयासमा सरकारको निरन्तर सहयोग र विश्वासको लागि आभार व्यक्त गरेको छ ।
थप तस्वीरहरु, तस्वीर स्रोतः न्याभ