मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा मेलवर्नमा रहेका सामुदायिक संस्थाका नेतृत्वकर्ताहरुलाई एकाउन्ट तथा बुककिपीङ (लेखा र बहीखाता)सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ ।
आइतवार ब्रन्सविक इस्टमा एक कार्यक्रमको वीच न्याभले यस क्षेत्रमा रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई संस्थाको क्षमता विकास गराउने गरी आर्थिक पारदर्शीता कसरी व्यवस्थित गर्ने, अष्ट्रेलियाको कर कानून, आर्थिक कानूनसँग नबाझिने गरी हिसाव किताव कसरी राख्ने भन्ने विषयमा एक दिने तालिम प्रदान गरेको हो ।
चार्टड अकाउन्टेन्ट राजेश आचार्य तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट अर्जुन ढकालले तालिममा उपस्थितहरुलाई तालिम प्रदान गरेका थिए । उनीहरुले संस्थाभित्र हुने आर्थिक आयव्यायहरुलाई अष्ट्रेलियाको नियम नबाझिनेगरी चुस्त दुरुस्त बनाउन सकिने उपायहरुको बारेमा जानकारी दिएका थिए भने उपस्थित सहभागिहरुका जिज्ञासाहरुको पनि जवाफ दिएका थिए ।
कार्यक्रम संयोजक तथा न्याभका कोषाध्यक्ष यकेन्द्र तिम्सिनाले न्याभका पदाधिकारीहरु सहित एनएआरएनए, एएनएमसी, एपिँग ओलर्ट, फारवेस्ट नेपाली कम्युनिटी, नर्दन नेबरहुड नेपाली कम्युनिटी, मेलवर्न चौतारी, साउथ एसियन कम्युनिटी लिंक ग्रुप, मेलवर्न नेप्लिज कम्युनिटी वेस्ट लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागिताको निम्ती धन्यवाद दिदै तालिम प्रदान गरेका सिए राजेश आचार्य र अर्जुन ढकाललाई धन्यवाद दिए ।
नेपाली संस्थाहरुलाई अष्ट्रेलियाको नियम अनुसार अकाउन्ट तथा बुककिपीँगसम्बन्धी समस्याहरु समाधान गर्नको निम्ती कार्यशाला गोष्ठी गरिएको उनले बताए ।
कार्यक्रममा न्याभका संस्थापक अध्यक्ष तथा साउथ एसियन कम्युनिटी लिंक ग्रुपका अध्यक्ष डा. राजु अधिकारीले यस कार्यक्रमले नेपाली सामुदायिक संस्थाहरुको आर्थिक व्यवस्थापनमा सहज हुने बताए ।
त्यस्तै एनएनसियाका नवनिर्वाचित अध्यक्ष कृष्ण महरा यस कार्यक्रमबाट संस्थाको आर्थिक प्रणाली सुधार गर्न सहयोग पुग्ने बताए ।
भिक्टोरिया सरकारबाट नेपाली संस्थाहरुको क्षमताको विकासको निम्ती न्याभले पाएको आर्थिक अनुदान मार्फत यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष उप्रेतीको भनाइ छ ।
उनले यसै क्षमता विकास कार्यक्रम अन्तर्गत आगामी मे २१ को दिन भाषा पढाउने शिक्षकहरुको निम्ती कार्यशाला गोष्ठी गर्न लागिएको जानकारी दिए ।
तालिमको सहजीरकण न्याभका सहसचिव आलोक पौडेलले गरेका थिए ।
न्याभले आगामी दिनमा नेपाली संघसंस्थाहरु मात्र नभएर स्वयंसेवक, स्पोन्सरहरुलाई समेत सहभागि गराउनेगरी यसप्रकारका वित्तिय शिक्षा सम्बन्धी तालिम आयोजना गर्ने जनाएको छ ।