मेलवर्न । समाजसेवी मणिरत्न सापकोटाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
लामो समयदेखि विभिन्न सामुदायिक संघसंस्थाहरुमा रहेर नेतृत्व गरेका सापकोटाले यसपटक एनआरएनए भिक्टोरियाको संयोजक पदको जिम्मेवारी लिएर काम गर्न चाहेको जानकारी दिए ।
‘म अष्ट्रेलिया आएको २४ वर्ष भयो र यस अवधिमा यहाँ रहेका नेपाली सामुदायिक संघसंस्थाहरुमा आवद्ध भइ समाजसेवामा लागिरहेको छु’, सापकोटाले कनेक्टनेपालीसँग भने, ‘अब एनआरएनए मार्फत यहाँको नेपाली समुदायको आवाज बोल्ने र उनीहरुको मुद्धा सम्बोधन गर्ने नै मेरो मुख्य उद्धेश्य हो ।’
यसअघि २०१९ – २१ कार्यकालका एनआरएनए भिक्टोरिया राज्य उपसंयोजकको रुपमा भूमिका निभाइसकेका उनले गुल्मी समाज भिक्टोरियाको अध्यक्षको रुपमा २०१७ – २०१९ मा सेवा गरिसकेका छन् ।
‘यसरी एनआरएनएमा प्रत्यक्ष र परोक्ष रुपमा जोडिरहँदा यो संस्था प्रतिको माया अझै बढेको छ’, उनले भने, ‘मलाई अझै धेरै समाजसेवा गर्नु छ, त्यसैले एनआरएनएको नेतृत्व गरेर नै अघि बढ्न चाहान्छु ।’
उनले अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई एनआरएनएको सदस्यता लिन समेत आग्रह गरेका छन् ।