सिड्नी । डब्बो नेपाली समाज अस्ट्रेलियाले अभिभावकहरुसगं अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । १७ जुन शनिवार डब्बोमा सम्पन्न कार्यक्रममा अभिभावकहरुलाई उपस्थित गराई परिचयात्मक सहित नेपाली समाजले के गर्दा सजिलो हुन्छ भन्ने विषयमा छलफल भएको समाजका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिए । डब्बोमा बढ्दो नेपाली जनसंख्या सगैं हुर्कँदै गरेका नेपाली नयाँ पिढीका बालबालिकाहरुलाई नेपाली भाषा प्रति आकर्षण गर्दै नेपाली भाषा पढाउँदै आएको समाजले उनका अभिभावकहरुबीच अन्तरक्रिया गरेको हो ।
दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म चलेको कार्यक्रममा अभिभावकहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए । न्यू साउथ वेल्स नजिक रहेको डब्बोमा झण्डै नेपालीको जनसंख्या १ हजार ५ सय पुग्न लाग्दा दोश्रो भाषाको रुपमा नेपाली भाषा प्रयोग गर्ने गरिएको भन्दै अध्यक्ष भण्डारीले नानी बाबु नेपाली पाठशाला मार्फत हरेक आईतबार बिहान १० बजेदेखि १२ बजेसम्म नेपाली बालबालिकाहरुलाई नेपाली भाषा कक्षा सञ्चालन गरिरहेको वताए ।
उक्त कक्षा मार्फत ३५ जना विद्यार्थीहरुलाई नेपाली भाषा अध्यापन भईरहेको उनको भनाई छ । २०१५ सालमा स्थापना भएको डब्बो नेपाली समाजले विभिन्न चाडपर्वमा नेपाली समुदायका व्यक्तिहरुलाई जमघट गराई विभिन्न कार्यक्रम गर्दै आएको छ ।