मेलवर्न । हाम्रो कम्युनिटीले अष्ट्रेलियाको भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न लेख्न प्रेरित गर्ने ध्येयका साथ नेपाली भाषा तथा नृत्य कक्षाहरु शुरू गरेको छ ।
मेलवर्न पश्चित क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका बालबालिकाहरुमाझ नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यसहित शुक्रवारदेखि भाषा र नृत्य कक्षा शुरू गरेको हो ।
भाषा निर्देशनको अतिरिक्त, हमो समुदायले नृत्य पाठहरू पनि प्रदान गर्ने जानकारी दिदै समाजका अध्यक्ष प्रकाश अर्यालले यसले बालबालिकाहरूलाई परम्परागत नेपाली नृत्यहरू सिक्न र नेपालको समृद्ध सांस्कृतिक सम्पदाको कदर गर्न सिकाउने विश्वास लिइएको बताए ।
टार्नेट स्थित बेम्बिट ब्याग रुक सामुदायिक हलमा हरेक शुक्रवार साँझ ६ देखि ८ बजेसम्म सञ्चालन हुने भाषा तथा नृत्य कक्षालाई सहजीकरण गर्न दुई जना शिक्षकहरु नियुक्त गरिएको समाजका अध्यक्ष अर्यालले जानकारी दिए । उनले हाम्रो कम्युनिटीबाट ४० प्रतिशत र बाँकी ६० प्रतिशत खर्च अभिभावकहरुले व्यहोर्नेगरी अहिले यो कक्षा शुरू गरिएको भन्दै अबदेखि नियमित रुपमा कक्षाहरु चल्ने जनाए ।
त्यस्तै समाजका सचिव शंकर अर्यालले हाल ३० जना बालबालिकाहरुले अध्ययन गर्न शुरू गरेको भन्दै आफ्ना बालबालिकाहरुलाई पढाउन चाहने अभिभावकहरुले सम्पर्क गर्न सकिने जानकारी दिए । उनका अनुसार सिट सीमित रहेको छ ।
उक्त भाषा तथा नृत्य कक्षाको संयोजकको रुपमा सुवास घिमिरेले भूमिका निभाउनले भएका छन् ।
यसअघि पनि कम्युनिटीले बालबालिकाहरुलाई भाषा सिकाउने उद्धेश्यका साथ हिज्जे प्रतियोगिता सञ्चालन गरेको थियो ।