न्याभद्वारा तीज कार्यक्रमः सयौ मानिसहरु उपस्थित, पशुपति र कलाले मच्चाए धमाका

मेलवर्न । नेपाली संघ भिक्टोरियाद्वारा आयोजित तीज पर्व २०२३ भव्यताका साथ सम्पन्न भएको छ । गत आइतवार साँझ ६ देखि १०ः३० सम्म चलेको उक्त तीज कार्यक्रम सयौं मानिसहरुको उपस्थितीमा भव्य र सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम पछिल्लो समय मेलवर्नमा सम्पन्न भएका सांस्कृतिक कार्यक्रमहरुमध्ये सबैभन्दा ठूलो मध्येको एक बन्न सफल भएको आयोजकको विश्वास छ ।

कार्यक्रममा नेपालका बहुचर्चित राष्ट्रिय कलाकार पशुपति शर्मा र कला लम्सालले सांगीतिक प्रस्तुती दिएका थिए । उनीहरुले सांस्कृतिक प्रस्तुतीमा रमाउँदै दर्शकले नाँचेर मनोरञ्जन लिएका थिए ।

उक्त कार्यक्रमको अर्काे आकर्षण रहेको थियो – महिला उद्यमीहरुलाई सम्मान । न्याभले भिक्टोरियामा व्यापार व्यावसाय गरी उद्यमशिलताको पहिचान बनाउन सफल अर्चना डाँगी क्षेत्री, अर्चना श्रेष्ठ, पिंकी थापा, रेणुका पाठक, सोनी बैदार राजभण्डारी, रन्जु श्रेष्ठ, रुबी श्रेष्ठ, हीरा लामा, रमिला महर्जन, रबिता महर्जन, रबिला महर्जन, प्रमिला श्रेष्ठ र कुसुम मगरलाई विशेष सम्मान गरिएको थियो । उनीहरुले भिक्टोरिया क्षेत्रमा रहेका व्यापार व्यावसाय गरि व्यावसायिक सफलताको पहिचान मात्र नबनाएर विश्वरभर रहेका महिलाहरुलाई उद्यमशिलतामा समेत प्रेरणा दिएको भन्दै सम्मान स्वरुप कार्यक्रममा विशेष अभिनन्दन गरिएको तीज कार्यक्रम संयोजक तथा न्याभ उपाध्यक्ष ललिशा थापाले जानकारी दिइन् ।

‘तीज भनेको महिलाहरुको पर्व हो, यसमा महिलाहरुको सफलताका कथाहरु अरुलाई सुनाउने र महिला उद्यमलाई प्रोत्साहन गर्नेगरी हामीले यो कार्यक्रम गरेका हौं’, थापाले भनिन्, ‘कार्यक्रम सोँचेजस्तै भयो, उद्यमी महिलाहरुलाई काम गर्न उर्जा पनि मिलेको महसुस गरेका छौं ।’

यस्तै न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले तीज पर्वको शुभकामना दिदै न्याभले नेपाली कला संस्कृतिलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा स्थापित गर्नको निम्ती सदैव काम गरिरहने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरियन मल्टीकल्चरल एसोसियसनका उपाध्यक्ष ब्यू थाए, सोसलिस्ट अलायन्स नेत्री सु बोल्टनसहित एनआरएनए भिक्टोरिया अध्यक्ष मणिरत्न सापकोटा, न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी, रन्जन वैद्य,  डा. अनुपम पोखरेल,अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भटट्राई लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विशेष उपस्थिती जनाएका थिए ।

मिराज कन्सल्टिङ्गको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा चान्डलर आरटीओले सहायह प्रायोजकको रुपमा सहयोग गरेको थियो । कार्यक्रममा प्रयोजकको रुपमा रत्न ज्वेलर्स मेलबर्न अस्ट्रेलिया, बुद्ध ट्राभल एण्ड टुर्स प्रालि, बेटर चोइस मोर्टगेज, काठमाडौं बैंक्वेट, काम्नेर निर्माण, एडब्लुटीआई मेलबर्न, नारायण पुरोहित सेवा, सुविन्द फोटोग्राफी, शोकेस नेपाल, मेलबोर्न फोटो प्रोजेक्ट, लक्की ड्र प्रायोजक नेपाल मेलबर्न शपले सहयोग गरेका थिए । त्यस्तै एनआरएनए भिक्टोरिया, नारी निकुन्ज, अष्ट्रेलियाली नेपाली बहुसांस्कृतिक केन्द्र एएनएमसी, डोरिन एन्ड मेरिडा समाज, सुदूरपश्चिम नेपाली समाज, मगर समाज भिक्टोरिया, गुल्मी समाज भिक्टोरियाले पनि सहयोग गरेको न्याभले जनाएको छ ।

कार्यक्रममा पशुपति शर्मा, कला लम्सालसहित स्थानीय कलाकार राजेश केसीले सांस्कृतिक प्रस्तुती दिएका थिए । बालबालिकाहरुको नृत्यसहित सांस्कृतिक नाँचहरु प्रदर्शन गरिएको कार्यक्रममा लकी ड्र मार्फत विभिन्न पुरस्कारहरु पनि वितरण गरिएको थियो । न्याभका सचिव माधव खरेल, सहसचिव आलोक पौडेलले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने धना तामाङ, क्रिष्टिना अनु र अनिश शर्मा गैरेले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । न्याभका खेल संयोजक दीप चन्दले अतिथि सत्कारको जिम्मा लिएको कार्यक्रममा करिब ६ सय मानिसहरु उपस्थित भएको आयोजकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय