प्रहरीले अघि बढायो अनुसन्धान
काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा एकै परिवारका तीन जनासहित ४ जनाको हत्या भएको छ । हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।
गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको छ ।