मेलवर्न । अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी)को आयोजनामा मेलवर्नमा दशैंको उपलक्ष्यमा बृहत नवाहज्ञान महायज्ञ हुने भएको छ ।
एएनएमसीले शनिवार एक पत्रकार सम्मेलन गर्दै यही १५ अक्टोबर २०२३ देखि २३ अक्टोबर सम्म नौं दूर्गाको अवसरमा दशैंको पूजाआजासँगै एएनएमसी सप्ताह भाग २ गर्न लागिएको र तयारी प्रक्रिया तिव्रताको साथ अघि बढाएको जनाएको छ ।
एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले दशैंको अवसरमा नेपालीहरुलाई पूजाआजाको व्यवस्था गर्ने, श्रीमद् भागवत महापुराण कथा सुनाउने, विभिन्न धार्मिक सांस्कृतिक झाँकी, नृत्य, भजन कृतन सुन्ने सुनाउने अवसर रहेको जानकारी दिए । वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले मुख्य प्रवचन सुनाउने भएका छन् ।
सोमबार देखि शुक्रवार सम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म, तथा शनिवार आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म सप्ताह हुने छ । आरतीको समय साँझ ७ः३० बजे रहेको छ ।
१५ अक्टोबरमा कलश यात्राको साथमा महायज्ञ शुरू हुनेछ भने २४ अक्टोबरमा टीका जमारा सहित समापन हुनेछ । विशेष समारोह २२ अक्टोबर महाअष्टमीको दिन हुने भएको छ ।
‘गाँउ गाँउ बाट उठौं, बस्ती बस्तीबाट उठौं, मेलबर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौं’ भन्ने मूल नारासहित यतिवेला प्रचारप्रसारलाई तिव्रता लिइएको भट्टराईले जानकारी दिए ।
१०० डन्कन्स लेन, डिगर्स रेस्टस्थित आफ्नै जग्गामा सप्ताह हुने भएको हो । हाल मूर्तिहरु स्थापना गरी नियमित पूजाआजा शुरू भएको उक्त प्रस्तावित बहुसांस्कृतिक केन्द्र निर्माणको लागि अर्थ संकलनको पनि लक्ष्य राखिएको एएनसमसीले जनाएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै डा. तिलक पोखरेलले नेपालीहरु एकताबद्ध भएर आफ्नो धार्मिक आस्था अनुसार चाडपर्व मनाउने मात्र नभएर हुर्कदै गरेका बालबालिकाहरुमा पनि संस्कृतिको विस्तार गर्ने उद्धेश्य यस महायज्ञमार्फत लिइएको बताए ।
अक्टोबर १५ देखि सुरु हुने मेलबर्न सप्ताहको दोश्रो संस्करणको मुख्य उद्देश्य कम्तिमा एक पटक भएपनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरु आफ्नै मन्दिर परिसरमा मा आउन् भन्ने नै हो”, एएनएमसीका सहकोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेलले भने ।
त्यस्तै एएनएमसीले उक्त कार्यक्रमको निम्ती स्वयंसेवकहरु आवश्यक परेको भन्दै इच्छुक व्यक्तिहरुलाई सहभागिताको निम्ती अनुरोध पनि गरेको छ ।
एएनएमसीले १५ एकर जग्गा खरिद गरी नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्र बनाउने उद्धेश्यको साथ उक्त गुरूयोजना अघि बढाइरहेको छ । हाल अस्थायी संरचना मार्फत पूजाआजाको काम चलिरहेको छ ।