मेलवर्न । हाम्रो कम्युनिटीले आयोजना गरेको आईसीएस कप भलिवल प्रतियोगिताको उपाधि हिमालयन टाइगर्सले हात पारेको छ ।
आईसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसन शीर्ष प्रयोजक रहेको ३५ बर्ष माथिका खेलाडी सहभागि भएको भलिवल प्रतियोगितामा आयोजक टोली हाम्रो कम्युनिटी रेडलाई हराउँदै हिमालयन टाइगर्सले उपाधि हासिल गरेको हो ।
प्रथम हुँदै हिमालयन टाइगर्सले १५०० डलर नगद तथा ट्रफी र मेडल हात पारेको छ भने रनर अफ भएको हाम्रो कम्युनिटी रेडले ५ सय डलर नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै प्लेयर अफ द टुर्नामेन्टको उपाधि दिनेश लामा, बेस्ट सेटर कृष्ण कार्की र बेस्ट डिफेन्डरको उपाधि किशोर घर्तीले पाएका छन् ।
प्रतियोगितामा हाम्रो कम्युनिटी रेड, हिमालयन टाइगर्स, एनसिटीसी भिक्टोरिया, हाम्रो कम्युनिटी एल्लो, हाम्रो कम्युनिटी ब्लू (वर्णमाला), क्र्यानबर्न ज्ञानज्योती पाठशाला, गल्कोट समाज र क्र्यागीबर्न ब्रिगेडले प्रतिस्पर्धा गरेका थिए । सेमिफाइनलमा गल्कोट समाज र हिमालयन टाइगर्स तथा हाम्रो कम्युनिटी र क्र्यागिबर्न ब्रिगेडवीच प्रतिस्पर्धा भएको थियो ।
क्यारोलाइन स्प्रिंग्स लिजर सेन्टरमा सम्पन्न प्रतियोगितामा महेश के श्रेष्ठले मुख्य कोचको रुपमा भूमिका निभाए । भिक्टोरियाको लागि पूर्व स्पोर्ट दूत समेत रहेका नेपाली स्पोर्ट्स संघ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एम्पाएरको भूमिका निर्वाह गरे ।
अध्यक्ष प्रकाश अर्यालले प्रतियोगिता सफल बनाउन भूमिका निभाउने सम्पूर्ण खेलाडी, दर्शक, प्रयोजक, सहयोगी सबैलाई धन्यवाद दिए ।
त्यस्तै प्रतियोगिताका मुख्य प्रायोजक आईसीएस इन्टरनेशनलका डाइरेक्टर केदार सापकोटा, सहप्रायोजक यात्रा दि कनेक्सनका डाइरेक्टर सबिन अधिकारी, प्लाटीनम स्पोन्सर वेल्थम्याक्स फाइनान्सियल ग्रुपका डाइरेक्टर बाबुराम भट्टराई र बहुचर्चित राष्ट्रिय कलाकार बसन्त थापालाई मायाको चिनो प्रदान गरिएको थियो । थापाले दिएको सांगीतिक प्रस्तुतीले सबै खेलाडी तथा दर्शकलाई मनोरञ्जन प्रदान भएको थियो ।
सो अवसरमा एनआरएनए भिक्टोरियाका अध्यक्ष मणिरत्न सापकोटा, एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराई, एएनएमसीका सचिव अनन्त पौडेल, हिमालयन टाइगर्सका अध्यक्ष सन्तोष पाण्डे, क्र्यागिबर्न ब्रिगेडका खलाडी तथा खेलप्रेमी माधव पौडेल, एनसिटिसीका अध्यक्ष टोप आले लगायतको विशेष उपस्थिती रहेको थियो ।
प्रतियोगिताको सन्चालन भने अनिश शर्मा गैरेले गरेका थिए ।