मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा यही अक्टोबर १५ मा हुन लागिरहेको बाल दिवस कार्यक्रमको तयारी तिव्र बनाइएको छ ।
न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले भिक्टोरियामा हुर्कदै गरेका नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति, नृत्य सिकाउने तथा नेपालीहरुको एकतालाई प्रवर्धन गर्ने उद्धेश्यको साथ बाल दिवसलाई मनाउन लागिएको जानकारी दिए ।
उनका अनुसार न्याभले हरेक बर्ष प्राथमिकताको साथ बाल दिवस मनाउने गरिरहेको र बालबालिकाहरुका गतिविधिहरुलाई प्राथमकिता दिइरहेको जानकारी दिए ।
गाइडस्टार ट्रेनिंग सेन्टरको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा भिक्टोरियामा हुर्कदै गरेका सयौं नेपाली बालबालिकाहरु सहभागि हुने विश्वास लिइएको छ ।
एपिंग मेमोरियल हल एपिंगमा हुन लागेको उक्त कार्यक्रममा बालबालिकाहरुको नृत्य, सांस्कृतिक प्रस्तुती, नाटक, मन्तव्य, प्रतिभाको खोजी लगायतका गतिविधिहरु हुने कार्यक्रम संयोजक तथा न्याभका सचिव आलोक पौडेलले जानकारी दिए ।
‘१० बजेबाट शुरु हुने कार्यक्रममा बालबालिका लक्षित विभिन्न गतिविधिहरु हुनेछन्’, उनले भने, ‘त्यसमा जादुगरको प्रस्तुती अझै विशेष हुनेछ ।’ मेलवर्नका चर्चित जादुगर एलजे द म्याजिसियनले विशेष प्रस्तुती दिने आलोकको भनाइ छ । कार्यक्रममा मेलवर्नमा नेपाली भाषा पठनपाठन हुने १० विद्यालयका बालबालिकाहरु सहभागि हुने पौडेलले जनाए ।
यस्तै मुख्य प्रायोजक गाइडस्टार ट्रेनिंग सेन्टरका सिइओ शबनम थापाले न्याभले लामो समयदेखि बालबालिकाहरु लक्षित कार्यक्रम गर्दै आइरहेकोमा आफ्नो कम्पनीको तर्फबाट पनि साथ दिइएको जानकारी दिइन् ।
उनले भनिन्, ‘बाल दिवस भनेकै बालबालिकामा एक चेतना फैलाउने भएकाले बालबालिकाहरुलाई नेपाली सबै रितीरिवाज संस्कारसंग परिचित बन्न यो कार्यक्रम महत्वपूर्ण छ ।’
यस्तै एपीबी पाट्नर्स, एक्सपर्ट एजुकेशन माइग्रेसन, ग्रेस इन्टरनेशनल, लेण्डाभाईजर्स, गुडविल फाईनान्स, म्याक्सी म्याक्स एजुकेशन एन्ड माइग्रेसन, नारायण पुरोहित सेवा, सुत्र सर्भिसेस लगायतले सहयोग गरेका छन् । हस्पिटालिटी पार्टनरमा चिल्ली एभरेष्ट रहेको छ ।
आफ्ना बालबालिकाहरुलाई कार्यक्रममा सहभागि बनाइ उनीहरुलाई नेपाली कला, भाषा, नृत्य सिकाउने महत्वपूर्ण अवसर समेत रहेको न्याभको विश्वास छ ।
कार्यक्रम विहान १० बजेदेखि १ बजेसम्म चल्नेछ । जसमा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा भिक्टोरियालाई प्रतिनिधित्व गर्ने नेतागणहरु पनि सहभागि हुनेछन् । हाल न्याभद्वारा ८ नेपाली भाषा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।