न्याभ उपाध्यक्ष थापालाई ‘भिक्टोरियन अनर रोल अफ विमेन लोकल च्याम्पियन’ अवार्ड

मेलवर्न । नेपाली संघ भिक्टोरियाको उपाध्यक्ष समेत रहेकी महिला अधिकारकर्मी ललिशा थापालाई भिक्टोरिया सरकारले लोकल च्याम्पियनको उपाधि सहित सम्मान गरेको छ ।

बुधबार (११ अक्टोबर २०२३) को दिन आर्ट्स सेन्टर मेलबर्नमा आयोजित एक समारोहमा भिक्टोरियामा २२ जना महिलाहरुलाई भिक्टोरियन अनर रोल अफ विमेनले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मार्फत थापाले २०२३ को लोकल च्याम्पियनको उपाधिसहित सम्मान प्राप्त गरेकी हुन् ।

थापाको उपलब्धिको कदर गर्दै भिक्टोरिया सरकारको तर्फबाट भिक्टोरियाका लागि महिला, सन्धि, रोजगार तथा उद्योग मन्त्री नेटेली हचिन्सले औपचारिक रूपमा थापालाई भिक्टोरियन अनर रोल २०२३ मा सम्मिलित गरिन् । थापा १०९ महिला नेतृहरुमध्येबाट छानिएर उत्कृष्ट २२ मा पर्न सफल भएकी हुन् ।

उनको योगदानलाई कदर गदैै भिक्टोरियन सरकारले थापाले ‘बाधाहरू तोड्दै र समावेशीता र सशक्तिकरणको वातावरणलाई बढावा दिएको बताएको छ ।

न्याभमा महिला फोरमको स्थापनाप्रति लक्षित गर्दै सरकारले भनेको छ, ‘लैङ्गिक समानता तर्फको यो महत्वपूर्ण कदम (न्याभ महिला फोरमको स्थापना)ले धेरै नेपाली महिलाहरूलाई नेतृत्वको भूमिकामा आउन र आफ्नो समुदायमा दिगो प्रभाव पार्न प्रोत्साहित गरेको छ। उनी न्याभको प्रतिनिधित्व गर्ने अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रकी कार्यकारी सदस्य पनि हुन्।’

थापा अष्ट्रेलियामा भिक्टोरियन अनर रोल अफ विमेन २०२३ अवार्ड प्राप्त गर्ने पहिलो नेपाली मूलकी महिला बनेर नेपाली समुदायमा इतिहास रच्न सफल भएकी हुन् ।

‘यो अष्ट्रेलियामा रहेका सबै नेपाली महिलाहरुलाई मात्र नभएर नेपाली समुदायको निम्ती पनि गर्वको कुरा भएको मैले विश्वास लिएकी छु’, अवार्ड प्राप्त गरेसँगै थापाले कनेक्ट नेपालीलाई भनिन् ।

यस्तै न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले पनि थापाले पाएको सम्मानले न्याभ मात्र नभएर यहाँको नेपाली समुदायलाई गौरवान्वित बनाएको बताए । थापालाई न्याभले उक्त सम्मानको निम्ती सिफारिस गरेको थियो ।

भिक्टोरियामा रहेका महिलाहरुको उपलब्धिहरुलाई पहिचान गर्ने उद्धेश्यको साथ भिक्टोरियन अनर रोल अफ विमेनको स्थापना २००१ मा भएको थियो ।

फेडरेशनको भिक्टोरियाको एक शताब्दी पुगेको उपलक्ष्यमा भएको उत्सवको एक भागको रूपमा स्थापित अनर रोलमा हरेक बर्ष उत्कृष्ट काम गर्ने महिलाहरुलाई समावेश गर्दै कदर पत्र प्रदान गर्ने गरिन्छ । यस्तै भिक्टोरियन सरकारको आधिकारिक वेभसाइटमा पनि समावेश गर्ने गरिन्छ ।

भिक्टोरियन महिलाहरूले गरेका उत्कृष्ट योगदानहरू मनाउँदै र उनीहरूले राज्यमा दिगो योगदान गरेका धेरै तरिकाहरूलाई स्वीकार गर्ने उद्धेश्यको साथमा विमेन भिक्टोरियाले यो सम्मान प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर