काठमाडौँ । वि. भि. एस. नेपालले कान्ति बाल अस्पताललाई आइसियु बर्न वार्ड स्थापनाका लागि आवश्यक विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ । आज (मंगलबार) एक औपचारिक कार्यक्रमकाबिच अस्पतालका निर्देशक डा.पङ्कज रायलाई वि. भि. एस. नेपालले १९ प्रकारका उपकरणहरू हस्तान्तरण गरेको हो ।
असहाय र आर्थिक अवस्था कमजोर भएका अग्निजन्य हिंसा तथा दुर्घटनामा परेका देशैभरीका बालबालिकाको सहज उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले उपकरणहरू वितरण गरिएको वि. भि. एस. नेपालकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीले बताउनुभयो । निर्देशक गिरीका अनुसार उपकरणहरू हस्तान्तरण पछि रेखदेख, संरक्षण तथा मर्मत सम्भार भने अस्पतालले नै गर्नुपर्ने छ ।
हस्तान्तरण गरिएका उपकरणहरूमा इन्फ्यूजन पम्प ४ थान, आइसियु बेड २ थान, एचडियु बेड २ थान, ह्विलचियर २ थान, सिरिन्ज पम्प ४ थान, ड्रेसिङ सेट, आइसियु भेन्टिलेटर १ थान इलेक्ट्रिक डर्माटम १ थान, पेसेन्ट मोनिटर ४ थान, सेन्ट्रल मोनिटर १ थान ए.सी. १ थान र कम्युटरलगायत बर्न आईसियू वार्डलाई आवश्यक सम्पूर्ण सामग्रीहरू रहेका छन् । यस्तै अस्पतालका निर्देशक डा.रोयले बर्न वार्डका लागि प्राप्त उपकरणहरूको सही सदुपयोग हुने अस्पतालले दिने सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । यस्तै बिरामीले पनि सहजरुपमा सेवा पाउने डा. रायले विश्वास दिलाउनुभयो ।
यस्तै उक्त कार्यक्रममा डा.बाल बस्नेतले वि. भि. एस. नेपालले विगतदेखि बर्न वार्डमा विभिन्न स्वास्थ्यसम्बन्धी उपकरणहरू प्रदान गर्दै आइरहेकोले औषधी उपचारमा समस्या नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ वि. भि. एस. नेपालले विगतदेखि अस्पतालमा स्वास्थ्यका विभिन्न उपकरणहरू दिँदै आइरहेको छ । पैसा तिर्न नसक्ने बिरामीहरूका लागि उपचार खर्च पनि बेहोर्ने, औषधीदेखि सबै कुराहरू सहयोग गर्दै आइरहेको छ । यसले गर्दा बर्नमा हामीले औषधी छैन भन्नुपर्ने अवस्था आएको छैन ।”
साथै वि. भि. एस. नेपालले कान्ति बाल अस्पतालको बर्न वार्डमा प्रत्येक हप्ता प्रत्येक विरामीलाई अण्डा, तथा विभिन्न फलफूलहरू एक बाकस, सर्वोत्तम लिटो लगायतका खानेकुराहरू पनि दिँदै आइरहेको छ । अस्पताल प्रशासनले आगामी दिनमा पनि यस्तै स्वास्थ्य उपकरहरू सहयोगको अपेक्षा गर्दै विभिएस नेपाललाई धन्यवाद दिएको छ । वि. भि. एस. नेपालले यसअगाडि पनि कान्ति बाल अस्पताललाई विभिन्न स्वास्थ्य सम्बन्धी उपकरण सामग्रीहरू दिँदै आइरहेको छ ।
