सिड्नी । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा रुपन्देही सामाजिक सञ्जाल (आर.एस.एन.ए)ले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स स्थित रकडेलमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोक गायक, सर्जक एवं पत्रकार रामप्रसाद खनालसंग साक्षात्कार सहित एकआपसमा चाडपर्वहरुको शुभकामना आदान प्रदान गरी मनाईएको हो ।
मातृभूमिबाट टाढा रहेपनि नेपाली परम्परा, चाडपर्व र संस्कृतिको संरक्षण गर्दै एक आपसमा भाईचारा तथा भातृत्वलाई कायम गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलले बताए ।
कार्यक्रममा सांस्कृतिक जगेर्ना तथा संरक्षणको आगाम थप्ने गीत, संगीत तथा नृत्य मार्फत आरएसएनए महिला संयोजक सृजना खड्का गैरे ,बाल गायक आयुषी पोखरेल र आरोही पोखरेलले आफ्नो प्रस्तुती दिँदै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद खनालले आफ्नो विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई विचार, आस्था, धर्म र अन्य विभिन्न बहानामा विभाजित नभई हामी नेपाली हौँ भन्ने भावनालाई उजागर गर्न आग्रह गरे । उनले सञ्जालले विगत ८ वर्षदेखि गरिरहेका विभिन्न सामाजिक क्रियाकलापहरुको प्रसंशा गरे । कलाकार खनालले आफ्नो सांगीतिक प्रस्तुती समेत राखेका थिए ।
कार्यक्रममा वरिष्ठ समाजसेवी एव्म नेपाली समुदायका अभिभावक डा. नारायण प्रधान, फेन्काका उपाध्यक्ष डा. मधुसुदन पुडासैनी, गुल्मी समाजका अध्यक्ष कमला बस्नेत, रुपन्देही सामाजिक सञ्जालका पूर्व सल्लाहकार एवम् समाजसेवी रामजी विष्ट, प्राध्यापक संघका निर्वतमान अध्यक्ष प्राध्यापक गोपाल पाण्डे, संस्थाका संरक्षकहरु संस्थापक अध्यक्ष राज खनाल, संरक्षक कृष्ण गैरे, ईश्वर पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रुपन्देही सामाजिक सञ्जालले गर्दै आईरहेको कार्यहरुको सह्राना गरेका थिए ।
कार्यक्रमलाई अस्ट्रेलिया स्थित विभिन्न व्यवसायिक संस्थाहरुले सहयोग एवम् प्रायोजन गरेका थिए । संस्थाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सांस्कृतिक तथा साहित्यिक कोअर्डिनेटर सुचना पाण्डेले गरेकी थिइन् । कार्यक्रममा संस्थाका सल्लाहकार ,कार्यसमिति सदस्य एवम् पदाधिकारीहरु, संगित तथा कला प्रेमीहरु ,नेपाल तथा अष्ट्रेलियामा रहेका अभिभावक समुदायका अगुवा तथा सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।