मेलवर्न । अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरले मेलवर्नको डिगर्स रेष्टमा बनाउन लागेको नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रको विकासको निम्ती अष्ट्रेलियाको संघीय सरकारले ५ लाख डलर आर्थिक अनुदान दिने भएको छ ।
एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले कनेक्ट नेपाली मिडियालाई दिएको जानकारी अनुसार अष्ट्रेलियाको संघीय सरकारमार्फत ५ लाख डलरको आर्थिक सहयोग गर्ने पक्का भएको हो ।
एएनएमसीको मन्दिरमा स्वचालित प्रदेशद्वार, तारबार, क्यामेरा व्यवस्थापन लगायतका सुरक्षाका विषयलाई चुस्त बनाउनको निम्ती र पूजाआजा नियमित रुपमा सञ्चालनको निम्ती खर्च गर्ने गरी उक्त आर्थिक सहयोग प्राप्त हुने निश्चित भएको भट्टराईले जानकारी दिए ।
‘यो कार्यक्रमको लागि २८७ संघसंस्थाहरुले अप्लाइ गरेका थिए, हामीले पनि ५ लाख डलर बराबरको पूरा रकमको माग गर्दै आवेदन दिएका थियौं’, भट्टराईले भने, ‘हामीले दिएको आवेदनमा केन्द्र, प्रदेश र स्थानीय मन्त्री तथा सांसदहरु, र नेपाली संघसंस्थाहरुले लविङ्ग गरिदिनुभयो, हामी सफल भयौं,यो हामी अष्ट्रेलियाबासी नेपाली समुदायको निम्ती गौरवको कुरा हो । ।’
उनले उक्त रकम अबको २०२७ सम्म खर्च गर्ने गरी चरणबद्ध रुपमा प्राप्त गर्न सकिने जानकारी दिए ।
‘अधिकतम ५ लाख डलरसम्मको आवेदनको सीमा राखिएको थियो, हामीलाई सोही बराबरको आर्थिक अनुदान प्राप्त भयो, उनले भने, ‘यसको लागि सहयोग गर्ने केन्द्र देखि प्रदेश हुँदै स्थानीय स्तरका मन्त्री र सांसदहरुलाई धन्यवाद दिन चाहान्छौं ।’
चालु आर्थिक बर्षमा १ लाख ८० हजार बराबरको रकम प्राप्त हुने र सो रकमको प्रयोग गरि मन्दिर क्षेत्रको सुरक्षा बलियो बनाउने विषयमा खर्च गरिने भएको छ । आगामी आर्थिक बर्षमा १ लाख ५० हजार, २०२५/२६ मा १ लाख २० हजार र २०२६/२७मा ५० हजार गरेर प्राप्त हुनेछ ।
नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्र बनाउन लागि परेको एएनसएमसीमा हाल नियमित रुपमा पूजा आजा सन्चालन गर्दै भौतिक संरचनाहरु बनाउने काम चलिरहेको छ । यस्तै एएनएमसीले बहुसांस्कृतिक केन्द्र बनाउनको निम्ती हालै सम्पन्न गरेको मेलवर्न सप्ताह भाग २ मार्फत ७ लाख डलर भन्दा बढी रकम संकलन गरेको छ ।