मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) अष्ट्रेलियाले १९ औं न्याभ कपको तयारी शुरू गरेको छ ।
नयाँ बर्ष २०२४ को अवसरसँगै १४ जनवरीबाट शुरू हुँदै १० मार्चमा फाइनल खेल हुनेगरी न्याभ कपको १९ औं संस्करण गर्न लागिएको हो । एक दर्जन भन्दा बढी क्रिकेट क्लबहरुको सहभागिता रहने उक्त प्रतियोगिताको लागि समूह दर्ता खुला भइसकेको छ । प्रतियोगिताको निम्ती डोनेथ रिजर्भ रिजभोयरलाई खेल मैदान छनौट गरिसकिएको छ ।
गत बर्ष जस्तै यस बर्षको न्याभ कपमा पनि म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजको मुख्य प्रायोजन रहने भएको छ । न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले यसपटक पनि म्याक्सीम्याक्स नै मुख्य प्रायोजक रहने निश्चित भएको कनेक्ट नेपालीलाई जानकारी दिए ।
यसपटकको न्याभ कपलाई भव्य र ऐतिहासिक बनाउने गरी गत नोभेम्बरमा न्याभले नेपालका लागि अष्ट्रेलियन राजदूतावासको रोहबरमा नेपाली क्रिकेट संघ (क्यान)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । न्याभका अध्यक्ष प्रेम उप्रेती र सचिब आलोक पौडेलले काठमाडौंमा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त समझदारी (एमओयू)मा न्याभ कपमा नेपाली खेलाडीहरुलाई सम्मान गर्ने, नेपाली क्रिकेट संघ र भिक्टोरियाको नेपाली क्रिकेटलाई जोड्ने तया क्यानको निम्ती अर्थ संकलन गर्ने सहमति भएको थियो ।
उपाधि विजेताहरुलाई न्याभ कप ट्रफी मेडलसहित नगद पुरस्कारहरु प्रदान गरिनेछ । यसपटक विजेतालाई नगद पुरस्कार बढाउने तयारी भएको भन्दै उप्रेतीले पुरस्कारहरुको घोषणा केही समयमा गरिने बताए ।
अघिल्लो बर्ष सम्पन्न १८ औँ न्याभ कपको उपाधि फारवेस्ट हन्टर्सले तीन विकेटले जितेको थियो । १२ समूहको सहभागितामा प्रेस्टनस्थित टि डब्लु पार्कमा भएको खेलमा नारे किङ्सलाई हराउँदै फारवेस्ट हन्टर्स न्याभ कपको ट्रफी जितेको थियो ।
पछिल्लो समय यहाँ नेपालीहरुको संख्या पनि बढीरहेको, खेलकूल क्लवहरु दर्ता भइरहेको तथा खेलप्रति बढीरहेको उत्साहलाई केन्द्रीत हुने यस प्रतियोगिताले नेपालीहरुमा एकआपसमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र सहअस्तित्वको विकास गर्न मद्धत पुग्ने विश्वास आयोजकले लिएको छ ।