मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले विधान संशोधन गर्ने तयारी स्वरुप विधान समीक्षा समिति गठन गरेको छ ।
संस्थाले २६ औंँ बर्ष प्रवेश गरिरहँदा २६ बर्ष अघि स्थापनाकालमा बनाइएको विधानमा केही परिवर्तन गर्नुपर्ने आवाज उठिरहेको भन्दै न्याभले आवश्यक समीक्षा गर्नको निम्ती समिति गठन गरेको हो ।
न्याभका अध्यक्ष प्रेम राज उप्रेतीको संयोजकत्वमा गठित विधान समीक्षा समितिको सदस्यहरुमा डा. अनुपम पोखरेल, डा. राजु अधिकारी, रन्जन वैद्य, सुधिर शाक्य, राजेश आचार्य र सुनिल भण्डारी रहेका छन् ।
उक्त समितिले विधानलाई समयसापेक्ष बनाउने गरी समीक्षा गर्ने र आवश्यक संशोधन प्रस्ताव तयार गर्ने भएको छ । सो विषयहरु न्याभको कार्यसमितिमा पेश गरिनेछन । पछि अधिवेशनमा उक्त संशोधन प्रस्ताव पेश गरिने तयारी छ ।
पछिल्लो समय न्याभको विधान समयसापेक्ष रुपमा संशोधन गर्नुपर्ने माग उठ्ने गरेको छ ।
यसअघि न्याभको २०१८-२० कार्यअवधिमा पनि उप्रेतीको संयोजकत्व तथा डा. अनुपम पोखरेल, सुनिल भण्डारी र नारायण काफ्ले सहितको एक समितिले उक्त विधान संशोधनको निम्ती कोसिस गरेको थियो । तर सम्भव भएको थिएन् ।
न्याभले यही ३१ डिसेम्बरको दिन बार्षिक साधारणसभा गर्न लागेको छ । उक्त साधारण सभामा पनि विधान संशोधनको समितिले तयार गरेका बुँदाहरुमा छलफल गर्ने तयारी छ । त्यस्तै अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदनको तयारी पनि अघि बढिरहेको न्याभले जनाएको छ ।
साधारणसभा सम्पन्न गरेसँगै न्याभ १९ औं न्याभ क्रिकेट कप तर्फ अघि बढ्नेछ ।