मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)द्वारा आयोजित १९ औं न्याभ कप प्रतियोगितामा हालसम्मकै धेरै क्रिकेट क्लबहरु सहभागि हुने भएका छन् ।
म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रयोजनमा १४ जनवरीबाट शुरू हुने न्याभ कपमा १७ क्रिकेट क्लबहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
जसअनुसार फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, ड्यान्फे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ समूहहरुले उपाधिको निम्ती प्रतिस्पर्धा गर्ने भएका हुन् ।
गत बर्ष १२ क्रिकेट क्लबहरुले सहभागिता रहेको थियो । यसपटक भने न्याभ कपको इतिहासमै सबैभन्दा धेरै क्लबहरु भिड्ने भएको आयोजकको भनाइ छ । टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।
न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले यसरी ठूलो मात्रामा क्रिकेट क्लबहरुको सहभागिता हुनुले यहाँको नेपाली समुदायमा न्याभ कपको लोकप्रियता बढ्दै गएको देखिएको बताए ।
नेपाल क्रिकेट संघ क्यान र अष्ट्रेलियाली राजदूतावास, नेपाल र एनआरएनए भिक्टोरिया अष्ट्रेलिया, भिक्टोरियन नेपाली क्रिकेट संघ, नेपाल कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलियाको महासंघ र अन्य संघसंस्थाको सहयोगमा प्रतियोगिताको प्रवर्द्धन गरिएको छ ।
१४ जनवरीबाट शुरू हुने प्रतियोगिता हरेक आइतवार डोनेथ रिर्जब रिजर्भोयरमा सञ्चालन हुनेछ । १० मार्चमा फाइनल खेल हुने भएको छ ।
यसपटकको न्याभ कपलाई भव्य र ऐतिहासिक बनाउने गरी गत नोभेम्बरमा न्याभले नेपालका लागि अष्ट्रेलियन राजदूतावासको रोहबरमा नेपाली क्रिकेट संघ क्यानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त समझदारीमा न्याभ कपमा नेपाली खेलाडीहरुलाई सम्मान गर्ने, नेपाली क्रिकेट संघ र भिक्टोरियाको नेपाली क्रिकेटलाई जोड्ने तया क्यानको निम्ती अर्थ संकलन गर्ने सहमति भएको थियो ।
उपाधि विजेताहरुलाई न्याभ कप ट्रफी मेडलसहित नगद पुरस्कारहरु प्रदान गरिनेछ । यसपटक विजेतालाई नगद पुरस्कार बढाउने तयारी भएको भन्दै उप्रेतीले पुरस्कारहरुको घोषणा केही समयमा गरिने बताए ।