काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो ।
लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
उक्त फैसलाले पीडित भनिएकी युवती १८ बर्ष पूरा भएको पनि ठहर गरेको थियो । २०७९ भदौ २१ गते गौशाला २६ (नाम परिवर्तन) ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।
तर, क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताएका छन् ।
बुधवार काठमाडौँ जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्क गरे ।