मेलवर्न । नेपाली संघ भिक्टोरिया द्वारा आयोजित १९ औं न्याभ कपको फाइनल यही १० मार्चमा हुन गइरहेको छ ।
म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन तथा होम्स इन्सिटट्युटको सहप्रयोजनमा आयोजित उक्त प्रतियोगिताको फाइनल खेल आगामी आइतवार हुँदैछ ।
१७ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधिको लागि एक्सपर्ट सगरमाथा ब्लुज र ट्राइकन क्रिकेट क्लबले भिड्ने भएका हुन् ।
आइतवार सम्पन्न भएको खेलमा चितवन क्रिकेट क्लबलाई एक्सपर्ट सगरमाथा ब्लुजले २ विकेटले हराएको थियो भने ब्राइटन एभरेष्ट क्रिकेट क्लबलाई ४० रनले पछि पार्दै ट्राइकन क्रिकेट क्लब फाइनलमा पुगेको हो ।
विजेता टोलीले ट्रफी मेडलसहित नगद ५ हजार डलर पाउने छ भने उविजेताले १ हजार ५ सय डलरसहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
जेसी डोनेथ रिजर्भमा हुन गइरहेको फाइनल खेलमा नेपाली क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय खेलाडीहरु दिपेन्द्र सिँह ऐरी र कुशल मल्ल सहभागि हुँदैछन् । उनीहरुले खेलाडीहरु तथा बालबालिकाहरुसँग क्रिकेट क्याम्प पनि गर्नेछन् ।
यस्तै साँझ गाला डिनरसहित अवार्ड सेरेमोनी समेत हुनेछ । जसमा क्यान अध्यक्ष चन्दसहित दुवै राष्ट्रिय खेलाडी र न्याभ कपका विजेता टोलीलाई सम्मान गर्ने न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले जानकारी दिए ।