मेलवर्न । नप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरिया (एनसिटीसी) द्वारा आयोजित अन्तरराज्य स्तरीय लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
भिक्टोरिया, साउथ अष्ट्रेलिया, क्विन्सल्याण्ड र नर्दन टेरिटोरीबाट गरी ६० जना भन्दा बढी सहभागि रहेको उक्त प्रतियोगितामा टीयर १ अन्तर्गत एडिलेडबाट भेष थापा विजेता तथा डार्विनबाट सागर भट्टराई उपविजेता भएका छन् ।
टीयर २ अन्तर्गत निराजन पौडेल (मेलवर्न) विजेता तथा ब्रिसबेनबाट आएका खेलाडी रशुल श्रेष्ठ उपविजेता भएका छन् । डबल तर्फ दीपेन्द्र गुरुङ र बलु भण्डारी (एडिलेड) विजेता भएका छन् भने अर्जुन भट्टराई र रमेश मरासिनी रनर अप भएका छन् ।
यसैगरी उत्कृष्ट खेलाडीको रुपमा म्याक बिष्ट, सुरेश सिलवाल, सुबास घिमिरे र अमर खड्कालाई विभूषित गरिएको थियो । ८ मार्चमा तीनकुने मोमो शनसाइनमा भेटघाटसहित शुरू गरिएको उक्त प्रतियोगिता ९ र १० मार्चमा गरी क्याम्ब्रिज टेनिस क्लब हपर्स क्रसिँगमामा सम्पन्न भएको हो ।
खेलाडीहरुले विभिन्न राज्यबाट भिक्टोरियामा जम्मा भएर खेल खेल्न पाएकोमा हर्ष र उत्साह प्रकट गरे । विक्न्सल्याण्डबाट टेनिसमा भाग लिन आएका म्याक विष्टले मैत्रीपूर्ण खेल खेल्न पाएको हर्ष प्रकट गर्दै आयोजक समितिसहित सम्बद्ध सबैलाई धन्यवाद दिए । यसप्रकारका खेलले यहाँको सामुदायिक एकता बलियो बनाउन समेत मद्धत पुग्ने बताए ।
एनसिटीसी भिक्टोरियाका अध्यक्ष टोप आलेले सहभागिताको निम्ती सबै खेलाडीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि नेपाली समुदायमा टेनिसको प्रभावकारिता बढाउने गरी काम गरिरहने बताए ।
प्रायोजिक आईसीएस इन्टरनेशनलका निर्देशक केदार सापकोटा र डेस्टिनी लिभिंगका निर्देशक केशव खत्रीले विजेताहरुलाई ट्रफी प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरेका गरेका थिए ।
अजी फाइनान्स एन्ड होमलोन्स मेलबर्नको मुख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा टीयर १ अन्तर्गत प्रथम हुनेले ६०० र उपविजेताले ४ सय डलर पुरस्कार पाए । त्यस्तै टीयर २ मा प्रथम हुनेले ४ सय र उविजेताले २५० तथा ओपनतर्फ विजेताले ५ सय र उपविजेताले ३ सय डलर पुरस्कार प्राप्त गरे ।
आईसीएस इन्टरनेशनल, डेस्टिनी लिभिँग, एइएक्स प्रपर्टी, फुल्ली प्रोमेटेड क्याम्बलफिल्ड, सफायर इस्टेट एजेन्ट्स, र इन्भायरोस्प्रेले सहप्रायोजन गरेको उक्त प्रतियोगितालाई नेपाली संघ भिक्टोरिया न्याभले संस्थागत प्रोत्साहन सहयोग गरेको थियो ।
एनसिटीसीले आगामी दिनमा पनि यसप्रकारका मैत्रीपूर्ण खेलहरु आयोजना गरिरहने जनाएको छ ।