अष्ट्रेलियामा विद्यार्थी र ग्राजुएट भिजाको मापदण्ड परिवर्तनः सजिलो भाषामा यसरी बुझौं

मेलवर्न । अष्ट्रेलिया सरकारले विद्यार्थी भिजा र अध्ययन सकेपछि आवेदन दिइने ग्राजुएट भिजाको लागि नयाँ नियमहरु लागू गरेको छ ।

हालसम्म विद्यार्थी भिजा दिदा विद्यार्थीहरु अस्थायी रुपमा अष्ट्र्रेलियामा भित्रिने र अध्ययन गरेर स्वदेश फिर्ता हुने अर्थात वास्तविक अस्थायी प्रवेशकर्ता (जेन्युन टेम्पोररी इन्ट्रान्ट) प्रमाणित गरे मात्र भिजा दिने प्रणाली थियो । त्यसलाई परिमार्जन गर्दै सरकारले अब वास्तविक विद्यार्थीलाई भिजा दिने भनेको छ ।

अब विद्यार्थीहरुले अष्ट्रेलियामा पढेर स्वदेश नै फर्कन्छु भनेर प्रमाणित गरिराख्नु पर्नेछैन तर उनीहरुले म वास्तविक विद्यार्थी हुँ भनेर प्रमाणित गर्नुपर्नेछ । जसमा आफूले पढ्न खोजेको विषय, यसले भविष्यमा दिने फाइदा, यसले अष्ट्रेलियाली सरकारलाई र आफ्नो देशलाई दिन सक्ने फाइदा, यसबाट पाउने सीप लगायतका विषयलाई जाँच गरेर मात्र भिजा जारी हुने भएको हो ।

हालसम्म विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययनको लागि मात्र आउने र त्यसलगत्तै स्वदेश फिर्ता हुनुपर्ने कारणहरु देखाउनु पर्ने थियो । जसमा विद्यार्थीको अँग्रेजी भाषाको ज्ञान, हालसम्मको पढाई, नयाँ पढ्न खोजेको कोर्समात्र नभएर आफ्नो पारिवारिक सम्बन्ध, आर्थिक अवस्था, स्वदेशको आर्थिक अवस्था, स्वदेशमा रहेको सम्पति लगायतलाइ पनि जाँच गरेर भिजा दिइन्थ्यो । यी सबै कुराहरु समेटेर विद्यार्थीहरुले एउटा कभर लेटर लेख्नु पर्थ्यो । अब भने यो कभर लेटरमा आफू अस्थायी बासिन्दा भएको भन्दापनि वास्तविक विद्यार्थी रहेको प्रमाणित गर्नपर्नेछ ।

अँग्रेजी भाषाको प्रावधानमा कडाई

सरकारले अब विद्यार्थी भिजा र अध्ययन सकेपछि पाउने ग्राजुएट भिजाको लागि अँग्रेजी भाषाको स्कोरको प्रावधान पनि बढाएको छ । यही शनिवारदेखि लागू हुनेगरी सरकारले विद्यार्थी भिजाको लागि अँग्रेजी स्कोर आइएलटिएसलाई ५.५ बाट बढाएर ६ र ग्राजुएट भिसाको लागि ६ बाट बढाएर ६.५ बनाएको छ । आइएलटीएस बाहेक अन्य प्रकारका जाँच दिने विद्यार्थीहरुले यसैको तुलनात्मक नम्बर ल्याउनु पर्नेछ ।

अब अष्ट्रेलिया सरकारले अँग्रेजी भाषाको क्षमता भएका मान्छेहरुलाई बढी प्राथमिकता दिन लागेको संकेत रहेको अष्ट्रेलियाको माइग्रेसनसम्बन्धी काम गरिरहेका विज्ञहरु बताउँछन् । अष्ट्रेलियालाई अब सीप मात्र भएका मानिसहरु मात्र नभएर अँग्रेजी भाषाको समेत राम्रो ज्ञान भएका मान्छेहरु चाहिएको देखिन्छ ।

विशेषगरी ग्राजुएट भिजाको लागि अँग्रेजीको प्रावधान बढाइँदा तुलनात्मक रुपमा धेरै विद्यार्थीहरुले उक्त अंक ल्याउन नसक्ने र ग्राजुएट भिजा पाउनबाट बन्चित हुन सक्ने आँकलन गरिएको छ । यस्तै ग्राजुएट भिजाको लागि अँग्रेजी परिक्षाको म्याद पनि ३६ महिनाबाट घटाएर १२ महिनामा झारिएको छ ।

गृहमन्त्री क्लेर ओ नीलले भिजाको खेती गर्ने कलेजहरुलाई पनि कारवाही गर्ने चेतावनी दिएकी छन् । उनले कमजोर रेटिङ् भएका कलेजहरुले ६ महिनाभित्र आफूहरुलाई सुधार नगरे बन्द गर्ने समेत चेतावनी दिएकी छन् ।

पर्यटक भिजामा ‘नो फर्दर स्टे’

यस्तै अबदेखि पर्यटक भिसामा आउनेहरुलाई समेत सरकारले ‘नो फर्दर स्टे’ अर्थात अष्ट्रेलिया आएपछि अर्को कुनै भिजा आवेदन दिन नमिल्ने प्रावधान राख्ने शुरु गर्ने समेत जनाएको छ । पर्यटक भिजामा अष्ट्रेलियामा आउने र यहाँ आइसकेपछि त्यसलाई परिवर्तन गरेर विद्यार्थी भिजाको आवेदन दिने व्यक्तिहरुलाई कडाइ गर्दै अष्ट्रेलिया भित्रबाट अर्को भिजा अप्लाई गर्न नमिल्ने गरी पर्यटक भिजा जारी गर्ने समेत जनाइएको छ ।

यो प्रावधान लागू भएका व्यक्तिहरुले अष्ट्रेलिया आइसकेपछि तोकिएको समयमा फिर्ता हुनुपर्नेछ । नयाँ भिजा अप्लाई गर्न मिल्नेछैन । विद्यार्थीका रुपमा अष्ट्रेलिया आउन चाहनेहरुले आफ्नै देशबाट विद्यार्थी भिजा लिएर आउनुपर्ने सन्देश अष्ट्रेलियाले दिएको छ ।

गत डिसेम्बरमा अष्ट्रेलिया सरकारले अस्थायी भिजाहरुमा कडाइ गर्ने जानकारी दिएको थियो । उक्त घोषणालाई कार्यान्वयनको चरणमा सरकार अघि बढ्न गइरहेको देखिन्छ ।
हालसम्मको भिजा प्रणालीले अष्ट्रेलियाले खोजेको जनशक्ति प्राप्त गर्न नसकेको भन्दै वर्तमान सरकारले नयाँ प्रावधानहरु लगाएर सीप र क्षमता भएका मानिसहरुलाई मात्र देश भित्राउन खोजेको जनाएको छ ।

स्रोतः https://immi.homeaffairs.gov.au/news-media/archive/article?itemId=1187

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय